
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई बन्द (सट डाउन) गरेको छ ।
आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्णरूपमा स्तरोन्नति गरेर कपर नेटवर्क सधैंका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ ।
दूरसञ्चार कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा शुक्रबार प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरेकी हुन् ।
सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले नेपाल टेलिकमले समयअनुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिइन् ।
टेलिकमप्रति सेवाग्राहीहरूमा भएको सकारात्मक धारणालाई चिरस्थायी बनाउनका लागि कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुली लगायत विभिन्न वक्ताहरूले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको बताएका थिए । ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
दूरसञ्चार कार्यालय, नक्सालका प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्घाटन भएको जानकारी दिए । अहिले क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको उनको भनाइ थियो ।
एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।
नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ ।
यो कार्य नियमित रुपमा भइरहेको र केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने टेलिकमका सह–प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए ।
