
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोलिने भएको हो ।
बाँध खोलेका बेला र खोलिएको केही घण्टा पश्चात महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलिगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलासयमा पानीको प्रवाह वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो ।
विसं २०७० असार २ र ३ गते धौलीगङ्गाको बाँध एक्कासी खोल्दा दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँको क्षति भएको थियो ।