
साविक विजेता इटाली जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।
शनिवार राति बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो ।
स्विट्जरल्यान्डले खेलको ३७ औँ मिनेटमै गोलको खाता खोलेको थियो । रेमो फ्रेउलेरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

यस्तै दोस्रो हाफ शुरू हुनेबित्तिकै खेलको ४६ औँ मिनेटमा स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो । रुबेन भार्गासले गोल गरेका हुन् । यसपछि दुवै तर्फबाट थप गोल हुन नसकेपछि स्विट्जरल्यान्डले खेल २–० ले जितेको हो ।
यससँगै स्विट्जरल्यान्ड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गत संस्करणको युरोकपमा स्विट्जरल्यान्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो । यो पटक पनि उसले यस्तै ‘सरप्राइज’ नतिजा दोहोर्याएर साविक विजेता इटालीलाई घर फर्काएको छ ।