१० साउन २०८३, आइतबार

वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्री तामाङको आग्रह

असार १७, २०८१
काठमाडौं
वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्री तामाङको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् ।

निगमको ६६औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्‍याउन नहुने उनको भनाइ थियो ।

'वायुसेवा निगम लामो इतिहास पार गर्दै आज ६७औं वर्षमा प्रवेश गर्दैछ । यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । अझै यसको अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक छ,' पर्यटनमन्त्री तामाङले भने ।

वार्षिकोत्सवको अवसरमा आज बिहान प्रभातफेरी गरिएको थियो ।

निगमको केन्द्रीय कार्यालयबाट शुरू भएको प्रभातफेरी न्युरोड, वसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो ।

विसं २०१५ असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो ।

निगमले हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

निगमले २ थान वाइड बडी ‘ए’ ३३० र २ थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुर्गम भेगका २२ भन्दा बढी गन्तव्यमा निगमले सेवा दिइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्