
नेपाल वायुसेवा निगमले आफ्नो ६६ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आज बिहान प्रभातफेरी गरिएको थियो । प्रभातफेरी निगमको प्रधान कार्यालय कान्तिपथबाट शुरू भई न्युरोड, भोटाहिटी, भद्रकाली, शहीद गेट हुँदै निगमको प्राङ्गणमा आएर टुङ्गिएको थियो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वैदिक विधिअनुसार आकाश भैरवको पूजा आराधना गरेपछि प्रभातफेरी शुरू भएको थियो ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले निगमको उत्तरोत्तर प्रगति तथा उन्नतिको शुभकामना व्यक्त गरेका थिए ।

६६ औं वार्षिकोत्सवको अवसरमा निगमले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यालयमा असार ७ गते सम्पूर्ण कर्मचारीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
यस्तै, असार १२ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो ।
यसै अवसरमा असार १३ गते निगमको केन्द्रीय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा निगमका २१८ जना कर्मचारीले रक्तदान गरेका थिए ।
त्यस्तै असार १४ गते शुक्रबार एयरपोर्ट टिम र प्रधान कार्यालय टिमबीच महिला–महिला, पुरुष–पुरुष मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो ।
विसं २०१५ असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो ।
निगमले हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।
निगमले २ थान वाइड बडी ‘ए’ ३३० र २ थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
आन्तरिकतर्फ दुर्गम भेगका २२ भन्दा बढी गन्तव्यमा निगमले सेवा दिइरहेको छ ।
