
नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न सक्ने पर्याप्त आधार भएको बताएका छन् ।
विमानस्थललाई हेरर निजी क्षेत्रले धेरै लगानी गरेको र पीडामा रहेकोले त्यो पीडा अस्थायी रहने उनले विश्वास व्यक्त गरे ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा पौडेलले विमानस्थल राम्रोसँग चल्ने र राम्रो मुनाफा दिने गरी चल्ने विश्वास व्यक्त गरेका हुन् ।
विमानस्थल छोटो अवधिमै राम्रोसँग सञ्चालन हुन सक्ने उनको भनाइ छ ।
यो विमानस्थल चल्न नसके विकासप्रति नकारात्मक भाष्य सिर्जना हुने जोखिम रहेको पौडेलले बताए । अब कुनै प्रकारको ढिलासुस्ती र विलम्ब गर्न नहुने भन्दै उनले सार्वजनिक लेखा समितिले पहलकदमी लिनु सराहनीय रहेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा ८ सदस्यीय उपसमिति बनेको छ ।
कार्यक्रममा बोल्दै भट्टराईले निजी क्षेत्रको चिन्ता र पीडा आफूहरूले महसुस गरेको बताए ।
पूर्व राज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले विमानस्थल बनाउनेतर्फ मात्र ध्यान दिइएको तर चलाउन ध्यान नदिइएको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले लुम्बिनीको विकाससँगै बुद्धसँग सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास हुनुपर्नेमा जोड दिए ।