
प्रतिबन्धित मुलुकमा नेपालीहरूलाई पठाउने भन्दै दर्ता नै नगरी म्यानपावर कम्पनी सञ्चालन गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका निर्सग रवीन्द्र राणे र सोही ठाउँका जावेद मसिह छन् ।
नवलपरासीको रामग्राम नगरपालिका– ५ बाईपासमा दर्ताबिना नै म्यानपावर कम्पनी सञ्चालन गरेको आरोपमा उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनीहरूले पाँच दिन अघि मात्रै बाइपासमा जेडी म्यानपावर सर्भिसेज नामको कार्यालय खोलेका थिए ।
प्रहरीले श्रम तथा रोजगार कार्यालय बुटवलको समन्वयमा उक्त म्यानपावरको होर्डिङ बोर्ड हटाएर सिल गरेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।
फुँयालका अनुसार उक्त कार्यालयबाट दुई वटा मोबाइल, भारतीय आधार कार्ड, ल्यापटप, भारतीय बैंकको चेक बुक र डेबिट कार्ड बरामद गरिएको छ ।
‘अवैध रूपमा म्यानपावर सञ्चालनमा रहेको सूचना पाएपछि विभागसँगको समन्वयमा छापा मारेका हौं,’ एसपी फुँयालले भने, ‘कोही ठगिएको हुनुहुन्छ भने प्रहरी वा विभागको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ ।’

उक्त म्यानपावरले वैदेशिक रोजगारीका लागि रसिया, अष्ट्रेलिया, इटालीलगायत मुलुकमा लैजाने भन्दै पैसा उठाएको प्रहरीको आशंका छ ।
डकुमेन्ट र रकम लिएपछि भारत हुँदै अन्य मुलुकमा पठाउने गरी उनीहरूले कार्यालय खोलेर बसेको अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।
यो अवधिमा केही व्यक्ति सम्पर्कमा आए पनि डकुमेन्ट र रकम भने नबुझाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूका अनुसार म्यानपावरको मुख्य कार्यालय भारतको महाराष्ट्रमा छ ।
उनीहरूबाट ठगीसम्बन्धीका कुनै प्रमाण फेला नपरेको श्रम तथा रोजगार कार्यालय बुटवलका सूचना अधिकारी केशवराज भट्टराईले जानकारी दिए ।
‘कानूनविपरीत कार्यालय खोल्नुले उनीहरूको उद्देश्य ठगी गर्ने नै हो भन्ने देखियो तर, ठगीसम्बन्धीका कुनै प्रमाण फेला नपरेकाले आवश्यक अनुसन्धानपछि हाजिर हुने सर्तमा छाड्न सकिन्छ,’ भट्टराईले भने ।