
रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीले विदेशको पीआर लिएको भन्ने विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन शुरू गरेको छ ।
आफ्नोमा परेको उजुरीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्राचार गरेपछि सतर्कता केन्द्रले छानबिन थालेको हो ।
'रक्षा सचिव किरणराज शर्माको अमेरिका र अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीको यूकेको पीआर रहेको भन्दै उजुरी परेको थियो,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक उच्च कर्मचारीले लोकान्तरसँग भने, 'दुवै जनाको विषयमा छानबिन गर्न प्रधानमन्त्री कार्यालयले सतर्कता केन्द्रलाई पत्राचार गरिसकेको छ ।'
प्रधानमन्त्री कार्यालयको निर्देशनात्मक पत्रपछि केन्द्रले विस्तृत छानबिन थालेको हो ।
'केन्द्रले त्यस विषयमा विस्तृतरूपमा छानबिन गर्न लागेको हो,' एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, 'दुवैजनासँग स्पष्टीकरण सोध्नेदेखि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा बुझ्न पत्राचार गर्ने तयारी भएको छ ।'
रक्षा सचिव शर्माले अमेरिकाको पीआर लिएको भनेर उजुरी परेको छ । तर, रक्षा सचिव शर्मा भने आफूले पीआर त्याग गरिसकेको बताउँछन् ।
'मैले विगतमा अमेरिकाको पीआर लिएको थिएँ । तर, पछि तत्कालीन सामान्य प्रशासन मन्त्रालयले विदेशी पीआर परित्याग गर्न निर्देशन दिएपछि परित्याग गरेको हो,' सचिव शर्माले लोकान्तरसँग भने, 'त्यतिबेला पीआर राख्न नपाउने भन्ने स्पष्ट कानून थिएन । धेरैजसो कर्मचारीले पीआर लिएका थिए । त्यही क्रममा मैले पनि लिएको थिएँ ।'

आफूले सन् २०१३ मा नै अमेरिकी राजदूतावासमार्फत पीआर परित्याग गरिसकेको उनको जिकिर छ ।
तर, उनले २०६२ भदौ २३ मा सामान्य प्रशासन मन्त्रालयमा स्थायी आवासीय अनुमति त्याग गर्ने भनेर निवेदन दिए पनि त्यसको ८ वर्षपछि मात्र परित्याग गरेको देखिन्छ ।
२०७० असोज ७ गते उर्जा मन्त्रालयका तत्कालीन सचिवलाई बुझाएको निवेदनमा उनले लेखेका छन्, '२०६२ भदौ २३ मा नै मैले स्थायी आवासीय अनुमति त्याग्ने विषयमा जानकारी गराएको र त्यही प्रतिबद्धता अनुरूप यूएस एम्बेसी काठमाडौंमा पर्मानेन्ट रेजिडेन्ट कार्ड सरेन्डर गरेको प्रमाण यसैसाथ संलग्न छ ।'

सचिव शर्माले सन् २०१३ सेप्टेम्बर १९ (२०७० साल)मा काठमाडौंस्थित अमेरिकी राज्दूतावासमा पीआर सरेन्डर गरेको देखिन्छ ।
तर, उनले २०६२ सालमा नै पीआर परित्याग गरेको भनेर जानकारी गराएका थिए । त्यसपछि पनि ८ वर्षसम्म उनले पीआर राखेको पाइएको छ ।

अर्कातर्फ अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनालीले पनि आफूले यूकेको पीआर परित्याग गरिसकेको जिकिर गरे ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक (राजश्व)का रूपमा कार्यरत मैनालीले विगतमा आफूसँग यूकेको पीआर भएपनि ७/८ वर्षअघि नै परित्याग गरिसकेको उनले बताए ।
उनी अहिले यूकेमा नै छन् । निजी कामको शिलशिलामा यूके आएको र एक सातापछि नेपाल फर्किने उनको दाबी छ ।
'मैले यूकेको पीआर लिएको हो, तर ७/८ वर्षअघि नै परित्याग गरिसकेँ,' यूकेबाटै मैनालीले लोकान्तरसँग भने, 'त्यसपछि तीन/चारचोटी भिसा नै लगाएर यूके आएको छु ।'
पीआरका विषयमा गरिएको उजुरीबारे आफू जानकार रहेको तथा त्यसको छानबिन 'फेस' गर्न पनि तयार रहेको उनको भनाइ छ ।