
केही दिनदेखि लगातार परेको अविरल वर्षाले लुम्बिनी प्रदेशमा भौतिक र मानवीय क्षति पुर्याएको छ । पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी र डुबान भएको छ । कतै पहिरोले घर पुरिएका छन् भने कति नदीले बगाउँदा मानिस बेपत्ता भएका छन् । लुम्बिनी प्रदेशका धेरै जिल्ला बाढीले असर पुर्याएको छ ।
पाल्पामा वर्षा भएसँगै बुटवलको तिनाउ नदीमा पनि ठूलो बाढी आएको छ । नदीले तिनाउ आसपासका बस्तीमा ठूलो जोखिम बढाएको छ ।
गुल्मीमा लगातारको वर्षासँगै आएको पहिरोले दुई वटा घर पुरेको छ । पहिरोले सत्यवती गाउँपालिका–३ का ३५ वर्षीय रेशम पुलामीको घर पहिरोले पुरेर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ ।
पुलामीसहित जोखिममा रहेका परिवारलाई केही पर छिमेकीको घरमा राखिएको वडा नम्बर ३ का वडाध्यक्ष जितु तरामुले जानकारी दिए ।
२०७६ सालमा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको थियो । वर्षातकै कारण छत्रकोट गाउँपालिका– १, २ र सत्यवती गाउँपालिकाको विभिन्न क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवासमेत ठप्प भएको छ ।
यस्तै, रुरुक्षेत्र गाउँपालिका–३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोख्रेलले जानकारी दिए ।
उद्धारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाले जिल्ला ग्रामीण तथा मुख्य सडक खण्ड अवरुद्ध भएका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका विभिन्न क्षेत्रमा पहिरो खसेको छ ।
यता दुई दिनदेखि परेको अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।
रिब्दीकोट गाउँपालिका–३ मालमुलमा पहिरोसहित खसेको ढुंगाले घर पुरिएको छ ।
शुक्रबारराति खसेको ढुंगाले पुरिँदा स्थानीय मीना विकको जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
उनका अनुसार जस्ताले छाएको काठले बनको गोठ समेत क्षतिग्रस्त भएको छ । मानिस बस्न मिल्ने अवस्था छैन । घर र गोठमा पूर्ण रुपमा क्षति पुगेको उनले बताए । यस्तै, रामपुर नगरपालिका–९ मधुकोटमा पहिरोले गोठ पुरिँदा पशु चौपाया मरेका छन् ।
निरन्तर वर्षाको कारण गोरुसिङ्गे सन्धीखर्क सडकको ठाउँ-ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ३६ न. गुल्म अर्घाखाँची लगायतको टोली पहिरो हटाउने प्रयासमा लागेका छन ।
सडक डिभिजनले डोजर नपठाउँदा समस्या परेको छ । उता दाङको देउखुरीमा प्रदेश सरकारका मन्त्रालयहरू बाढीले डुबानमा परेका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुनमगरले आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय डुबेको जानकारी दिए । दाङमा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ । अर्का १ जना बेपत्ता भएका छन् ।
बाढीले दर्जनौं घर डुबानमा परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान राप्ती नदीमा आएको बाढीले ट्याक्टर बगाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन ।
लमहीबाट दूध बेचेर फर्किँदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।
लगातारको वर्षाले दाङका विभिन्न ठाउँ जलमग्न भएका छन । दाङको राप्ती नदी र बबई नदीसहित अन्य खोलाहरूमा पानीको बहाव उच्च भएको छ । देउखुरीस्थित राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरूवा र कालापानीलगायत गाउँमा बाढी पसेको छ ।
यता बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीकोबीच भागमा महिलाको शव फेला परेको छ । बालुवा थुप्रिएको स्थानमा घोप्टो अवस्थामा, दाहिने हातमा डोरीले बाँधेको, दुवै कानमा पहेँलो प्लास्टिकको टप लगाएकी करिब ३५ वर्षीया महिलाको शव फेला पारेको प्रहरीले जनाएको छ ।
शरीर सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।