
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा मुकुल ढकाल पदमुक्त भएसँगै पार्टीभित्र उनको ठाउँ लिने नेताको खोजी शुरू भएको छ । पार्टी हितविपरीतको गतिविधि गरेको ठहर गर्दै पार्टीले ढकाललाई महामन्त्रीसहित प्रवक्ता र केन्द्रीय सदस्यबाट समेत पदमुक्त गरेपछि आकांक्षी नेताहरू उनको ठाउँ लिन दौडधुपमा लागेका हुन् ।
ढकाललाई पदमुक्त गरे पनि ३५ दिनभित्र कारबाही फुकुवाका लागि पुनरावेदन गर्न समय दिइएको छ । तर, सिंगो केन्द्रीय समितिले नै कारबाही गर्ने मत दिएपछि अब उनी रास्वपामा फर्किने सम्भावना असाध्यै कम रहेको नेताहरू बताउँछन् । ढकाल नफर्किने पक्काजस्तै भएपछि उनले होल्ड गरेको महामन्त्री र प्रवक्ता बन्न नेताहरूबीच हानथाप नै चल्न थालेको नेताहरू बताउँछन् ।
रास्वपामा महामन्त्रीका चार जना दाबेदार देखिएका छन् । ‘महामन्त्रीका लागि मुख्य दाबेदार ४ जना हुनुहुन्छ । तर, प्रमुख सचेतक सन्तोष परियार मुख्य दाबेदार देखिनुभएको छ,' रास्वपाका एक नेताले लोकान्तरसँग भने, ‘उहाँले आफूलाई महामन्त्रीको लागि सभापतिसमक्ष नै दाबेदारी दिनुभएको बुझेका छौं ।’
उनीबाहेक कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य र मनिष झा पनि महामन्त्रीका मुख्य दाबेदार हुन् ।
महामन्त्री सभापतिपछिको शक्तिशाली र कार्यकारी पद हो । यसैले रविले विश्वासिलो नेतालाई यो पद थमाउने तयारी गरेका छन् । महामन्त्री र प्रवक्ता अलगअलग गर्दा पार्टी संगठनको काम र प्रचारको काम व्यवस्थित हुने रास्वपाको नेताको बुझाइ छ ।
००००
पार्टीहित विपरीत काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेपछि मुकुल ढकालले रवि लामिछानेको क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।
मंगलवार बसेको केन्द्रीय समितिको बैठकले पदमुक्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढकालले रविको क्लबबाट निकालिए पनि रास्वपाभित्र घण्टी बज्न नरोकिने चेतावनी दिएका हुन् ।
००००
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबारदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।
००००
नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको छ ।
००००
कोरियन भाषा परीक्षाको मिति तय भएको छ। ईपीएस कोरिया शाखाले मंगलबार सन् २०२४ को विशेष कारियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो।
सूचना अनुसार परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।
त्यसका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने छ भने भदौ २८ गते परीक्षा तालिका घोषणा हुने छ।
००००
अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट ८० जनाको मृत्यु भएको छ ।
गत जेठ २८ देखि हालसम्म काठमाडौं उपत्यकामा एक, कोशीमा १९, मधेशमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
००००
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवलाई ९ वर्ष कैद सजाय भएको छ।
विशेष अदालतले मङ्गलबार पूर्वमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय सुनाएको हो ।
विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवाना हुने फैसला विशेषले गरेको छ ।
००००
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र टंकलाइन बापतको बक्यौता नबुझाउने उद्योगको लाइन काट्ने तयारी गरेपछि नेपालको उद्योग र वाणिज्य क्षेत्रका संघहरू एक ठाउँमा उभिएका छन् ।
‘पीडित तथा प्रताडित’ उद्योगी समूहको ब्यानरमा मंगलबार पत्रकार सम्मेलन आयोजनागरी उनीहरूले प्राधिकरणको दादागिरीले उद्योग संचालन गर्न नसकिने अवस्था आएको बताएका हुन् ।
००००
नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको अभियोगमा यातायात कार्यालयका उपसचिवसहित १५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा सोमवार मुद्दा दायर गरेको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरू लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलविरुद्ध अभियोग दर्ता भएको कार्यालयले जनाएको छ ।
००००
नेकपा माओवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत नपाए संविधानको धारा ७६ (३)मा अनुसार नयाँ सरकार गठन हुने जिकिर गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच धारा ७६ (२) अनुसार केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्नेगरी भएको सहमतिप्रति माओवादी नेताहरूले विरोध जनाए ।