
सत्तारुढ दल नेकपा माओवादी केन्द्र, संसदीय दलको बैठक सिंहदरबारमा शुरू भएको छ ।
पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने समझदारी गरेपछि विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बुधबार दिउँसो माओवादी संसदीय दलको बैठक बसेको हो ।
दुई दलको समझदारीपछि अल्पमतमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही असार २८ गते शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने भएका छन् ।
सरकारलाई समर्थन गरेका एमाले र जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
कांग्रेस र एमाले मिलेपछि प्रधानमन्त्रीले पाँचौंपटक विश्वासको मत पाउने स्थिति छैन ।
तर पनि माओवादीले अब बन्ने प्रधानमन्त्री संविधानका धारा ७६(३) अनुसार बन्नुपर्ने तर्क गर्दै आएको छ ।
यता पछिल्लो सहमति गरेका कांग्रेस र एमाले दुवै दलले संविधानको धारा ७६(२) अनुसार नै नयाँ प्रधानमन्त्री चयन हुने औपचारिक निर्णय पार्टीको बैठकबाट गरिसकेका छन् ।