
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा रहेका दुई दलसहित तीन दलका नेतासँग छलफल गरेका छन् । मोर्चा पुनःगठनका बारेमा नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराईबाट छुट्टिएको समूह र विप्लव नेतृत्वको नेकपासँग प्रधानमन्त्रीले छलफल गरेको बताइएको छ ।
बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताए ।
उनले समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी भएपनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मिसिएको बताए ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए ।