१९ असार २०८३, शुक्रबार

बैतडीमा बाढीबाट विस्थापित ७० परिवार घर फर्किए

असार २७, २०८१
काठमाडौं
बैतडीमा बाढीबाट विस्थापित ७० परिवार घर फर्किए

बैतडी - अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका  थिए । 

हाल बाढी जोखिम कम भएसँगै उनीहरू घर फर्किएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, ‘सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते  ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरू हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।’

वर्षातको समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दा हरेक वर्ष समस्यामा पर्ने गर्दछन्  । सिगास –५ का हरडाखानी, लाम्बगड, लोडे, सिगास – ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा हुने गरेको छ ।  

यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास –५ ढुङ्गाडलगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा  क्षति गरेको थियो । यसैबीच असार २० गतेदेखिको वर्षाले यहाँका पाँचवटा घरमा क्षति पुगेको थियो । दुई पशुचौपाया मरे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । –रासस–

salt training

कमेन्ट गर्नुहोस्