
१ अर्ब रुपैयाँ लगानीमा चितवनमा चिस्यान केन्द्र निर्माण हुने भएको छ ।
उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । चिस्यान केन्द्रको आज शिलान्यास गरिएको छ ।
रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए ।
उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले जानकारी दिए ।
'कृषि उपज एक वर्षसम्म शीत भण्डारमा राख्न सकिनेछ,' उद्यमी श्रेष्ठले भने । भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकतानुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ ।
उद्यमी श्रेष्ठले भने, 'अब मूल्य नपाएर कृषि उपज सस्तोमा बिक्री गर्नु पर्दैन ।'
उत्पादन खेर जाने समस्या उनी आफैंले भोगेकाले शीत भण्डारलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
किसानलाई प्रेरित गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकिङ गरेर भण्डारण गरी आवश्यकताअनुसार बजार पठाउने उनको लक्ष्य छ ।
उद्यमी गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना रहेको बताए ।
'चितवनमा सम्पन्न भएपछि अन्य ठाउँमा शीत भण्डार निर्माण गरिनेछ,' उनले भने ।