०१ साउन २०८३, शुक्रबार
सरकार झुक्याउने मेसो

डीपल ईभीमा कर छली: चीनमा बनेको १६० किलोवाटको मोटर भन्सारसम्म आउँदा ९९

असार २७, २०८१
काठमाडौं
डीपल ईभीमा कर छली: चीनमा बनेको १६० किलोवाटको मोटर भन्सारसम्म आउँदा ९९

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको स्वामित्वमा रहेको मोरङ अटो वर्क्स (एमएडब्ल्यू) कम्पनीले नेपालमा आयात गर्ने डीपल एस ०७ ईभीमा कम क्षमताको मोटर देखाएर कर छली गरेको पाइएको छ ।

चीनको च्यांङग्यान मोटर्सद्वारा निर्मित विद्युतीय कार डीपल एस ०७ को वास्तविक मोटर क्षमता १६० किलोवाट रहे पनि नेपाल आयात गर्दा जाँचपासमा भने जम्मा ९९ किलोवाटको देखाउने गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार मोटरको क्षमता कम देखाएर भन्सार र अन्तशुल्क छली गरेको पाइएकाले एमएडब्ल्यूबाट कागजपत्रसमेत बरामद गरेर अनुसन्धान थालिएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५० देखि १०० किलोवाटका ईभीमा १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क लिँदै आएको छ ।

त्यस्तै १०१ देखि २०० किलोवाटका ईभीमा सरकारले भन्सार र अन्त:शुल्क २०/२० प्रतिशत लिने गरेको छ । आगामी नयाँ आर्थिक वर्षमा भने भन्सार र अन्तशुल्क दुवै बढाइएको छ ।

१६० किलोवाटका ईभीलाई कागजमा ९९ किलोवाट मात्र देखाएर भन्सार र अन्तःशुल्क दुवैमा ५/५ प्रतिशत छली गरिएको विभागले जनाएको छ ।  

च्याङग्यानको नेपाली वेबसाइटमा डीपल एस ०७ को स्पेसिफिकेसनमा मोटर क्षमता ९९ किलोवाट देखाइएको छ भने अधिकतम टर्क ३२० न्युटन मिटर राखिएको छ ।

null

 

चीनमा उत्पादन गरिएको उक्त ईभीको चिनियाँ वेबसाइट र समाचारहरूमा भने १६० किलोवाट क्षमताको मोटर रहेको र अधिकतम टर्क उही ३२० न्युटन मिटर उल्लेख छ ।

चीनमा डीपल एस ०७ दुई भेरिएन्टमा उत्पादन हुन्छ । पहिलो हाइब्रिड हो भने दोस्रो पूर्ण विद्युतीय । विद्युतीय कार पनि दुई क्षमताको हुने सेन्चु­­­­­­री अटोमोबाइल्सले जनाएको छ ।

१६० र १९० किलोवाटको दुई फरक फरक क्षमताको विद्युतीय कार चीनमा उत्पादन हुन्छ ।

null

एमएडब्ल्यूले नेपाल आयात गरेको १६० किलोवाट मोटर क्षमताको हो । त्यसलाई कागजी रूपमा ९९ मा झारेर भन्सार र अन्तशुल्क छली गर्ने गरिएको हो ।

विभागले चीनस्थित च्याङग्यान मोटर्ससँग डीपल एस०७ को वास्तविक स्पेसिफिकेसन पनि माग गरेको छ । एउटै गाडीको स्पेसिफिकेसन चीनमा अलग र नेपालमा अलग भएको विषयमा राजश्व अनुसन्धान विभागले सोधपुछ गरिरहेको स्रोतले बतायो ।

नेपालमा छैन मोटर क्षमता जाँच्ने प्रविधि 

क्षमता कम देखाएर अग्रवालले धमाधम डीपल एस०७ भित्र्याउन थालेपछि भन्सार विभाग र राजश्व अनुसन्धान विभाग दुवै सशंकित बनेका थिए ।

विद्युतीय सवारीलाई प्रज्ञापनपत्रकै आधारमा भन्सार जाँचपास गरिदिनुपर्ने बाध्यता रहेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । 'ईभीको क्षमता नाप्ने प्रविधि राज्यले ल्याएको छैन,' उनले भने, 'हामीले कागजात हेर्ने हो । ठीक देखिए जाँचपास हुन्छ नत्र कानूनी प्रक्रियामा जान्छ । मोटर क्षमता म्यानुपुलेसन गरेर कर छली गरेको विषय सुनिएको छ । यसबारे हामीले पनि थप नयाँ पहल गर्छौं ।'

सवारी परीक्षण कार्यालयका प्रमुख मणिराम भुसालले पनि ईभीको क्षमता नाप्ने उपकरण र प्रविधि नेपालमा नभएको स्वीकारेका छन् ।

उनले भने, 'हामीसँग भएको चेसिर डाइनामो मिटर हो, यो मिटरले गाडीको चक्काको मात्रै क्षमता मापन गर्छ, जसबाट ईभीको वास्तविक गाडीको क्षमता मापन गर्न सकिँदैन ।’

ईभीको क्षमता नाप्ने उपकरण र प्रविधिका लागि ६/७ करोड थप खर्च लाग्ने उक्त कार्यालयका इन्जिनियर बताउँछन् । एक इन्जिनियरले भने, 'हामीले धेरै पहिलादेखि नै यो उपकरण आवश्यक पर्छ भनेर सम्बन्धित निकायलाई भन्दै आएका थियौं । करछलीको कुरा आएपछि उक्त प्रविधिको चर्चा त भएको छ तर अझै खरिद प्रक्रिया शुरू भएको छैन ।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशील ढकालले विद्युतीय सवारीमा कर छलीबारे आफूले धेरै बुझ्न नपाएको प्रतिक्रिया दिए । त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले पनि ईभीको मोटर क्षमता मापनका लागि नेपालमा उपकरण र प्रविधि नभएको स्वीकारे ।

'अहिलेसम्म त्यो प्रविधि नभएर पनि चलिरहेको थियो, करछलीको विषय आएपछि त्यसको आवश्यकता महसुस भएको छ । सञ्चारमाध्यमहरूले पनि यसबारे बहस र छलफल गरिदिनुपर्‍यो,' उनले भने ।

अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीले डीपल ब्रान्डसँगै निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, यामाहा, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको लाइसेन्स लिएको छ ।

यसअघि मोरङ अटो वर्क्स नामको उनको कम्पनीले २ करोड ७० लाख भन्दा बढी नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको खुलेको थियो ।

डीपल आयात गर्दा मोटर म्यानुपुलेसन गरेर कर छली गरिएको विषयमा सोध्न खोज्दा एमएडब्ल्यू ग्रुपका अध्यक्ष अग्रवालसँग सम्पर्क हुन सकेन ।

salt training

कमेन्ट गर्नुहोस्