
सहकारीको अर्बौं रकम अपचलनको छानबिन गर्न बनेको संसदीय समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा विभिन्न सहकारीबाट आएको ऋणको विवरण माग गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले लामिछाने संलग्न रहेकासहित गोर्खा मिडियामा प्रवाह भएको रकमको कारोबारको विवरण पठाउन पत्राचार गर्ने निर्णय गरेको सभापति सूर्य थापाले जानकारी दिए ।
‘विभिन्न सहकारी संस्थाहरू शिवशिखर, हाम्रो कृषि अभियान, तुलसी, सुमेरू, सूर्य दर्शन, सुप्रिम, सहारा, सानो पाइला, स्वर्णलक्ष्मी लगायतबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय भएको छ’ थापाले भने ।
यसअघि रवि गोर्खा मिडियामा संलग्न हुँदा सुप्रिम, स्वर्ण लक्ष्मीसहितका सहकारीबाट करोडौं रुपैयाँ गैरकानूनीमा रूपमा आएको विवरण सार्वजनिक भएका थिए । यस्तै विवरण आएपछि नेपाली कांग्रेसले लामिछाने केन्द्रित संसदीय छानबिन समिति गठनको माग गरेको थियो ।