
त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बसको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको छ ।

सशस्त्रको गाेताखोर टोली नदीभित्र छिरेर बसको खोजी गरिरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार टोली डुबेको बसको अवस्था शुक्रवार बिहान करिब ८ बजेसम्म फेला पार्न नसकेको उनले बताए ।

अविरल वर्षासँगै आएको पहिरोले शुक्रवार बिहान दामो दूरीमा चल्ने दुईवटा गाडी बगाएको छ । पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको माइक्रो बस (विङ्गर गाडी) र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा शुक्रवार बिहान ३ बजे उक्त घटना भएको सशस्त्रका सहप्रवक्ता डीएसपी थापाले जानकारी दिए ।

गौरबाट जाँदै गरेको बसमा करिब ४०–४१ जना तथा वीरगञ्जबाट आउँदै गरेको माइक्रोमा २०–२१ जना यात्रु सवार थिए । बस र माइक्रो पूरै नदीमा डुबेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रवक्ता थापाले बताए ।