
अल्पमतमा परेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले)ले गरेको सहमति निरंकुशता र अधिनायकवादको बाटो भएको आरोप लगाएका छन् । मध्यरातमा गरिएको सहमति रहस्यमय भएको उनको आरोप लगाए ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रस्तावका क्रममा प्रचण्डले संसदको पहिलो र दोस्रो दल मिल्नु रहस्यमय रहेको बताएका हुन् । ‘नाटकीय घटनाक्रमबाट नभइ पहिलो र दोस्रो दललाई विश्वास र आदर्श र निश्चित उद्देश्यले जोडेको भए मलाई चिन्ताको विषय हुने थिएन । त्यो डर र भयले जोड्यो,’ उनले भने ।
पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर, निरंकुशता र अधिनायकवादलाई प्रश्रय दिएको विश्वमा उदाहरण रहेको प्रचण्डले बताए ।
‘रहस्यमय ढंगले संविधानमाथि छेडछाड गर्ने कोसिस भएको छ, यो प्रतिगमनतर्फको तरिका हो । हस्ताक्षरको समय कुन रोज्नु भयो, जनताले बुझिरहेका छन्, नियत सफा भए सहमति गर्न अध्यारो र बन्द कोठा चाहिन्छ ?’ उनले प्रश्न गरे ।