
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वको नाममा कांग्रेस र एमालेले देशलाई २०४७ सालतिरै फर्काउन खोजेको आरोप लगाएका छन् ।
संविधान संशोधनको नाममा खेलाँची गर्न खोजेको र अस्थिरता बढाउन खोजेको आरोप उनले लगाए ।
‘संविधान संशोधनको जटिल विषयमा खेलाँची नगर्नु होला । संविधानजस्तो विषयमा सर्वस्वीकार्यता आवश्यक हुन्छ । राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल हो । ठूलो दललाई किनारा लगाएर संविधान संशोधन कसरी हुन्छ ? स्थिरताको लागि नाममा समावेशी प्रतिनिधित्व समानुपातिक प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्र हो,’ प्रचण्डले भने, ‘तपाईंको इच्छा ४७ सालको वरिपरि फर्काउन होला भन्ने लाग्छ मलाई ।’
अस्थिरताको कारण देखाएर साना दलको अस्तित्व समाप्त गर्न खोजेको प्रचण्डको भनाइ छ । ‘पश्चिमाको नक्कल गरेर दुई दलीय व्यवस्था गर्न खोजको खुला छ । लुकाउनै पर्दैन,’ प्रचण्डले भने, ‘४७ सालदेखि ६३ सालसम्म तपाईंहरूको भनेको जस्तो निर्वाचन प्रणाली थियो ? के त्यतिखेर स्थायित्व थियो त ? ४७ देखि ६३ सम्म १५ वटा सरकार बनाउने तपाईंहरूको नै होइन ? के त्यतिबेला स्थिरता थियो ?’
संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान उनले कांग्रेस र एमालेसँग माग गरे ।