२२ असार २०८३, सोमबार
नयाँ सरकार गठन प्रक्रिया

राष्ट्रपतिलाई संविधानविद्हरूको सुझाव– धारा ७६ (२) अनुसार नै सरकार गठन गर्न आह्वान गर्नुस्

असार २८, २०८१
काठमाडौं
राष्ट्रपतिलाई संविधानविद्हरूको सुझाव– धारा ७६ (२) अनुसार नै सरकार गठन गर्न आह्वान गर्नुस्

संविधानविद्हरूले राष्ट्रपतिलाई संविधानको धारा ७६(२) अनुसार नै सरकार गठनको लागि आह्वान गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत संसद्‌मा अस्वीकृत भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ संविधानविद्हरूसँग छलफल गरेका थिए । 

सो छलफलमा कानूनविद्हरूले संविधानको ७६(३) प्राविधिक हुने भन्दै ७६(२) अनुसार नै सरकार गठनको आह्वान गर्न सुझाव दिएका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले लोकान्तरलाई जानकारी दिए । 

‘कसरी अगाडि बढ्न सकिन्छ भनेर राष्ट्रपतिज्यूले जिज्ञासा राख्नुभएको थियो । कुन अवस्थामा अघि बढ्दा राष्ट्रपति संस्थालाई कम विवादमा पर्छ भन्ने उहाँको आशय थियो,’ छलफलमा सहभागी भएका घिमिरेले लोकान्तरसँग भने, ‘दुई ठूला दलले मिलेर जान्छौं भनेपछि धारा ७६)२) नै उपयुक्त हुन्छ । ७६(३) प्राविधिक हो । कसैले दाबी नगर्दा मात्रै यो धारामा जाने भन्ने हाम्रो सुझाव रह्यो । यसैले ७६(२) अनुसार नै आह्वान गर्नुस् भनेर हामीले सुझाव दियौं ।’

यस्तै, संविधानविद् विपिन अधिकारीले स्थिर सरकारका लागि ७६(२) को विकल्पमा जान नहुने सुझाव दिएको जानकारी दिए ।

‘स्थिर बलियो र टिकाउ सरकार गठनका लागि ७६२ को विकल्प हुँदाहुँदै अन्य विकल्पमा जान उपयुक्त हुँदैन । यसैले ७६(२) अनुसार सरकार गठनको प्रक्रियाका लागि आह्वान गर्न सुझाव दिएको छु,’अधिकारीले लोकान्तरसँग भने ।

छलफलमा संविधानविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

यी मध्ये चन्द्रकान्त ज्ञवालीले मात्रै ७६ (३) अनुसार सरकार गठनको लागि आह्वान गर्नुपर्ने सुझाव दिएका थिए ।

नयाँ सरकारका लागि दाबेदारीको तयारी अवस्थामा बसेका कांग्रेस र एमाले पनि राष्ट्रपतिबाट सरकार आह्वानको पर्खाइमा बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्