
‘क्यास एप’मार्फत ५ करोड रुपैयाँ बराबरको कारोबार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
अवैध कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी महानगरपालिका–८ घर भई हाल काठमाडौंको रविभवन बस्ने २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरी धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला र मोरङ उर्लाबारी महानगरपालिका–७ का २४ वर्षीय मिलन मिश्र रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
उनका अनुसार आरोपितहरूले ‘क्यास एप’नामक अनलाइनको प्रयोग गरी अवैध आर्थिक कारोबार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो ।
उनीहरूले ‘नगद एप सर्भर’को पहुँच दिई छवटा ईसेवा वालेट, पाँचवटा आईपीएस खाता जडान र सोही खाता मेरो लिङ्कअप भएका १९ वटा विभिन्न बैंकका खाताहरूसमेतमा अवैध तरिकाले क्यास एपमार्फत रु पाँच करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए ।
उनका अनुसार पक्राउ परेकाहरूको साथबाट आइफोन पाँच थान, ल्यापटप तीन थान बरामद गरिएको छ ।
उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) कसुरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।