३० असार २०८३, मंगलबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

सरकारमा सहभागी हुने र मन्त्री चयनबारे कांग्रेसले के–के गर्‍यो निर्णय ?

असार २९, २०८१
काठमाडौं
सरकारमा सहभागी हुने र मन्त्री चयनबारे कांग्रेसले के–के गर्‍यो निर्णय ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनेसहितका तीनवटा निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले ओली नेतृत्वको सरकारमा सहभागी हुने, मन्त्री छान्दा समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम एकैपटक पठाउने भएको छ ।

‘कांग्रेस र एमालेबीच असार १७ गते भएको राष्ट्रिय सहमतिको सरकारका गठबन्धनसम्बन्धी सहमति भएअनुसार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने निर्णय गरेका छौं,’ कांग्रेस प्रवक्ता महतले भने, ‘कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा मुख्य दुई आधार मान्ने निर्णय भएको छ । जसमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय बैठकले गरेको छ ।’​

शपथग्रहण हुँदासम्म कांग्रेसले मन्त्रीको नाम टुंग्याउने उनले बताए । यसका लागि आन्तरिक गृहकार्य भइरहेको उनको भनाइ छ ।

दुई दलबीच अहिलेसम्मको अनुभवबाट संविधानको आवश्यक संशोधन, राजनीतिक स्थिरता, आर्थिक स्थितिको सुधार गर्ने समझदारी बनेको उनले बताए ।

‘संविधान संशोधनको विषय महत्त्वपूर्ण छ । कहाँ सम्बोधन गर्नुपर्ने हो ती कुरालाई हेर्छौं,’ महतले भने, ‘समग्रमा देशलाई गति दिने, सरकारको स्थिरता सुनिश्चितता गर्ने, विपक्षी र अन्य दलको सहयोगसमेत लिएर देशलाई आर्थिक, सामाजिक रूपमा गति दिन लाग्छौं । वैदेशिक सम्बन्धलाई सुदृढ गर्छौ ।’

नारायणगढ–मुग्लिन सडक खण्डमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै, बेपत्ताको खोजी गर्न पनि राज्यको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाउने प्रक्रिया अगाडि बढेपछि कांग्रेसले सरकारमा सहभागितासहितको विषयका छलफल गर्न बैठक राखेको हो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत नपाएपछि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको लागि दाबी पेश गरेका छन् । 

आइतबार साँझ प्रधानमन्त्रीको नियुक्ति गर्ने तयारी छ ।

तर सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको टुंगो दुवै दलले लगाइसकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्