३२ असार २०८३, बिहीबार
प्राकृतिक बिपत्ति अपडेट

दुई बस त्रिशूलीमा बेपत्ता घटनाः थप एक शवको सनाखत

असार ३०, २०८१
काठमाडौं
दुई बस त्रिशूलीमा बेपत्ता घटनाः थप एक शवको सनाखत
फाइल तस्वीर ।

चितवनको सिमलतालमा शुक्रवार बिहान गएको पहिरोमा परेर दुई बस त्रिशुली नदीमा खस्दा मृत्यु भएकामध्ये थप एक जनाको शव सनाखत भएको छ ।

सनाखत गरिएको शव विकास परियारको भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।

उनी चितवनको माडी नगरपालिका–१ का स्थायी बासिन्दा रहेको जनाइएको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल्स बसमा चढेका परियारको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७, नारायणी नदी किनारमा शनिवार दिउँसो भेटिएको थियो ।  मृतकका दाइ विजय परियारले आइतवार शवको सनाखत गरेका हुन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका बसका यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जसमध्ये शनिवार दुई जनाको पहिचान खुलेको थियो । एक बाँकी रहेकोमा उनको पनि पहिचान खुलेको हो । 

शनिवार पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका थिए । साहको शव शनिवार बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । माझीका बुवा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।

 त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज (आइतवार) बिहानैबाट शुरू भएको छ ।

बिहान ८ बजेबाट पुनः खोजीको काम शुरू गरिएको चितवनका सहायक प्रजिअ भुसालले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितको संयुक्त टोलीले पालैपालो खोज्ने काम गरिरहेका छन् । खोजी कार्यमा तालिमप्राप्त गोताखोर पनि परिचालन गरिएको छ । 

साथै खोजी कार्यमा पानीभित्र प्रयोग गरी खोज्न सकिने वाटर ड्रोन, सोनार क्यामेरा, पाइपलाइन इन्सपेक्सन सिस्टम आदि प्रविधि प्रयोग गरिएको उनले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्