२३ असार २०८३, मंगलबार
प्राकृतिक बिपत्ति अपडेट

पहिरोमा परेर दुई बस त्रिशूलीमा खसेको घटनाः भेटिएका तीनवटै शवको पहिचान

असार ३०, २०८१
काठमाडौं
पहिरोमा परेर दुई बस त्रिशूलीमा खसेको घटनाः भेटिएका तीनवटै शवको पहिचान
बेपत्ता भएकाको खोजी गर्दै सुरक्षाकर्मीको टोली ।

नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । 

गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन् । 

वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बसमा उनी भरतपुरबाट चढेका थिए । मृतक विकासको शव नजिकै फेला परेको अर्को शव पनि सिमलताल घटनामा बेपत्ता भएका यात्रुकै भएको पुष्टि भएको छ । उक्त शव सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको प्रवक्ता रिजालले बताए ।

गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको भएको पुष्टि भएको छ । मृतकका बुवा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरीले जनाएको छ । दुई शव शनिबार नै आफन्तले बुझेका छन् ।

शुक्रबार बिहान काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराेमा परी त्रिशूलीमा बगेका थिए । 

काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । बेपत्ता बस र यात्रुको आज पनि खोजी शुरू भएको छ । 

पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्