
रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२, नेपालले २०२४ को क्लब स्थापना गरेको छ ।
इन्द्रेणी सुइट्स होटल काठमाडौंमा भएको कार्यक्रमबाट रोटरी वर्ष २०२४–२५ को लागि १२ औं अध्यक्षको रूपमा रोटरियन राज श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
यो क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटान अन्तर्गत स्थापना भई सञ्चालनमा छ ।
स्थापना समारोहमा क्लबका सदस्यहरू, उनका जीवनसाथीहरू, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स, र डिस्ट्रिक्टका लिडरहरू तथा अधिकारीहरूसहित ६० भन्दा बढी सहभागीहरू थिए ।
प्रमुख अतिथि र निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी विष्णुबहादुर कार्की र उनकी जीवनसाथीले सामुदायिक विकासमा रोटरीको महत्त्व र नेतृत्वको महत्त्वपूर्ण भूमिकाबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।
असिस्टेन्ट गभर्नर प्रवीण भट्टराईले डिस्ट्रिक्ट र क्लबबीचको परस्पर निर्भरता सामुदायिक स्तरमा स्थायी प्रभाव पार्नको लागि महत्त्वपूर्ण भएकोमा जोड दिए ।

उनले रोटरी इन्टरनेशनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उनको थीम ‘द म्याजिक अफ रोटरी’ र डिस्ट्रिक्ट गभर्नर २०२४–२५ राजेन्द्रमान शेरचनद्वारा राखिएका लक्ष्यहरू सार्वजनिक गरेका थिए ।
एजी भट्टराईले डिस्ट्रिक्ट र क्लबसँगको सम्बन्धलाई मजबुत पार्ने प्रतिज्ञा गरे।
अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि आफ्नो दृष्टिकोण र कार्य योजनालाई प्रस्तुत गरेका थिए ।
उनले रोटरी ई–क्लबले सामुदायिक क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानहरूमा प्रकाश पारे ।
जसमा दलसिङे, काभ्रेमा रु ६७,००,००० को भूकम्प पुनःस्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणका पहलहरू, शान्ति निर्माण प्रयासहरू, र (पानी, सरसफाइ, र स्वच्छता) परियोजनाहरू समावेश छन् ।
उनले रोटरीको ‘आफूभन्दा माथि सेवा’ को नारा लिएर क्लबका राम्रो कार्यहरूलाई अघि बढाउन सक्षम नयाँ नेतृत्व विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा क्लबका आठ चार्टर सदस्यहरू र एसईई पास भएका तीन विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
क्लबका सदस्य रोटरियन पूनम थापालाई पनि रोटरी लर्निंग सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गरी डिस्ट्रिक्टकै टप ११ मा पुग्न सफल भएकोमा सम्मानस्वरूप अध्यक्ष श्रेष्ठ र प्रमुख अतिथि राजेन्द्र धोजुले संयुक्तरूपमा सम्मानित गरेका थिए ।