
स्पेनिस युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनीपूर्ण प्रदर्शन गरेका १७ वर्षीय युवा स्टारले पहिलोपटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।
युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्टसमेत गरेका थिए । यामलले सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेका थिए ।
समूह चरणमा क्रोएसियालाई ३–० ले पराजित गरेको खेलमा डेब्यु गर्दै युरोको सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए । जतिबेला उनी १६ वर्ष ३३८ दिनका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्दै उनी युरो इतिहासमा गोल गर्ने पनि सबैभन्दा कान्छो खेलाडीसमेत बने ।
स्पेनका मिडफिल्डर रोड्री ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि दिलाउन मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका रोड्रीले उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।
उनले प्रतियोगिताभर १ गोलसमेत गरेका थिए ।