काठमाडौं, ८ कार्तिक– मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । यस्तै उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै वितरण गरिने छ ।
आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोधको निर्क्यौल गरेर निर्वाचन आयोगले आज चुनाव चिह्न वितरण गर्न लागेको हो ।
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रत्यक्षतर्फको निर्वाचन अन्तर्गत प्रतिनिधिसभाका लागि ३२० र प्रदेशसभाका लागि ४८२ गरी ८०२ जनाको उम्मेदवारी परेको थियो ।
उम्मेदवारहरुको दावी विरोधको समय मंगलवार नै सकिएको जनाइएपछि उम्मेदवारी फिर्ता लिने व्यक्तिलाई आज (बुधवार) दिउँसो १ बजेसम्मको समय तोकिएको आयोगले जनाएको छ ।
त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ६ बजेभित्र चुनाव चिह्न वितरण गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।