२१ जेठ २०८३, बिहीबार
प्रधानमन्त्री ओलीका सारथि

ओली क्याबिनेटका २१ मन्त्रीको बायोडाटा

असार ३१, २०८१
काठमाडौं
ओली क्याबिनेटका २१ मन्त्रीको बायोडाटा

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सोमवार चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका ओलीले त्यसलगत्तै २१ जना मन्त्रीको कार्यविभाजन गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले सोमवार नै सिंहदरबारमा पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद्‍मा ३ राज्यमन्त्रीको लागि ठाउँ बाँकी छ, तर क्याबिनेट मन्त्रीको कोटा भने पूर्ण भएको छ ।

प्रधानमन्त्री ओलीले गठन गरेको मन्त्रिपरिषद्‍मा झण्डै आधा नयाँ अनुहार छन् । कांग्रेसका ५ र एमालेका ४ सांसद पहिलो पटक मन्त्री बनेका हुन् ।

यस्तो छ ओली मन्त्रिपरिषद्‍मा सहभागी २१ मन्त्रीको संक्षिप्त विवरण

प्रकाशमानको गणेशमान लिगेसी

नेपाली कांग्रेसका संस्थापकमध्येका एक लौह पुरुष गणेशमान सिंहका छोरा प्रकाशमानले ओली सरकारमा पार्टीको नेतृत्व गर्ने मौका पाएका छन् । गणेशमान कांग्रेसभित्र मात्र नभई नेपाली राजनीतिको एक सम्मानित र आदर्श नेताको रूपमा चिनिन्छन् ।

पछिल्ला ४ निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सिंहले ओली सरकारमा उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मा पाएका हुन् । २०७८ सालमा सम्पन्न कांग्रेस महाधिवेशनमा गरेको सहयोग स्वरूप शेरबहादुर देउवाले यसपटक सिंहलाई उपप्रधानमन्त्री बनाएको चर्चा चल्ने गरेको छ ।

null

पहिलो चरणमा सभापतिमा पराजित भएपछि प्रकाशमानले देउवालाई सघाएका थिए । प्रकाशमानको सहयोगपछि देउवा सभापति निर्वाचित भए ।

प्रकाशमान यसअघि पनि पटक-पटक मन्त्री बनिसकेका नेता हुन् । सुशील कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री बनेका थिए । २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रकाशमान भौतिक पूर्वाधार मन्त्री थिए ।

देउवा सरकारलाई अपदस्थ गरेर तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि गठन गरिएको शाही आयोगले प्रकाशमानलाई दुख दिएको थियो । भक्तबहादुर कोइराला नेतृत्वको शाही आयोगले देउवा र प्रकाशमानलाई मेलम्ची खानेपानी आयोजनमा अनियमितता गरेको आरोपमा जेल सजाय सुनाएको थियो । पछि त्यो 'असंवैधानिक' शाही आयोगलाई सर्वोच्च अदालतले खारेज गरिदियो ।

नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापति हुँदै उनी कांग्रेस महामन्त्री र उपसभापति भइसकेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाको संगठनमा प्रकाशमानको पकड अहिले दह्रो छ ।

पौडेल चौथो पटक 'कम्युनिस्ट अर्थमन्त्री'

पछिल्ला चारवटै निर्वाचनमा लगातार विजयी भएका नेकपा एमालेका अपवाद नेतामध्ये एक हुन् विष्णु पौडेल ।

ओली नेतृत्वको सरकारमा उपप्रधान एवं अर्थ मन्त्रालयको जिम्मा पाएका पौडेल नेकपा एमालेका उपाध्यक्ष हुन् । चार चारपटक अर्थमन्त्री हुने कम्युनिस्ट नेताको सौभाग्य पौडेलले पाएका छन् । २०७३ सालमा पहिलोपटक अर्थमन्त्री बनेका पौडेलले केही लोकप्रिय कार्यक्रमसहित बजेट ल्याएका थिए ।

पूर्वपश्चिम राजमार्गबाट तराईका सदरमुकामसम्मको बाटो चौडा र पिच गर्नेलगायत केही दूरगामी कार्यक्रम २०७३ सालमा शुरु भएको थियो ।

null

पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै शेयर बजार चलायमान बन्न थालेको छ । निर्णय गर्नुपूर्व अरूका कुरा सुन्ने पौडेलको बानी रहेको उनलाई चिन्नेहरू बताउँछन् । उनले नेकपाकालमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको महासचिवको जिम्मेवारी पाएका थिए ।

पछिल्लो समय अर्थमन्त्रीकै कारण गठबन्धन र सरकार फेरबदल हुने गरेका छन् । देशको अर्थतन्त्र कमजोर रहेको समयमा पौडेल अर्थमन्त्री बनेका पौडेलसामू सीमित स्रोत साधनका बाबजुद अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती छ । देशको अर्थतन्त्र विगतमा जस्तो स्वस्थ नभएकोले यसपटक उनको यात्रा चुनौतीपूर्ण छ ।

मुख्यमन्त्री बनिसकेका पीएसलाई सञ्चार मन्त्रालय

ओली सरकारमा चौथो वरियतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका पृथ्वीसुब्बा गुरूङ एमालेका उपमहासचिव हुन् । २०७९ सालको प्रतिनिधि सभा चुनावमा माओवादी महासचिव देव गुरूङलाई पराजित गरेर उनी सांसद बनेका थिए ।

२०७४ को निर्वाचनमा प्रदेश सांसद बनेका उनी त्यसलगत्तै गण्डकी प्रदेश सरकारमा पहिलो मुख्यमन्त्री बने । संविधान बनाउने समयमा एमालेभित्रका केही जनजातिले उग्र कुरा गरिरहेको समयमा पीएसले सन्तुलित धारणा राख्ने गरेका थिए । उनीसँग विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेको अनुभव छ ।

null

उनलाई सोमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णयसमेत गरेको छ ।

ओलीसामू योगेश भट्टराई या गुरुङ कसलाई मन्त्री बनाउने द्विविधा थियो । अन्ततः गुरुङले सञ्चार मन्त्रालयमा बाजी मारेका छन् ।

गठबन्धनका सुत्राधार लेखक गृहमन्त्री

पाँचौ वरियतासहित सरकारमा सहभागी भएका रमेश लेखक नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ गठबन्धनको सुत्राधार पनि हुन् । कांग्रेस एमालेबीच भएको सम्झौताको मस्यौदा बनाउने काममा लेखक सक्रिय थिए ।

कांग्रेस संसदीय दलको मुख्य सचेतक रहेका लेखक सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । २०६३ सालमा सरकार-माओवादी शान्ति वार्ता हुँदा लेखक सरकारी वार्ता टोलीका सदस्य थिए । संविधान निर्माणका क्रममा पनि उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । लेखक २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

null

लेखक २०७३ सालमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए ।

प्रचण्डले कांग्रेससँगको गठबन्धन छाड्ने निर्णय गरेपछि लेखकले फागुन २४ गते संसदमा सम्बोधन गर्दै 'प्रचण्डबाट धोका पाएकाहरू’ एक ठाउँमा उभिने दिन आउने टिप्पणी गरेका थिए ।

गृहमन्त्री बनेका लेखकमाथि कांग्रेसले नै संसदमा पटक-पटक माग गरेको सहकारी ठगी प्रकरणको कानूनी छिनोफानोको चुनौती छ ।

सदाहार मन्त्री सरसिंह

पञ्चायत, लोकतन्त्रदेखि गणतन्त्रसम्मका सरकारमा मन्त्री पड्काउने सत्ता राजनीतिका चतुर र माहिर खेलाडी हुन सरतसिंह भण्डारी । लामो समय नेपाली कांग्रेस पृष्ठभूमिको राजनीति गरेका सिंह अरू नपाए बिनाविभागीय भएपनि मन्त्री बन्ने गरेका थिए ।

२०६३ सालपछि मधेशी जनअधिकार फोरममार्फत क्षेत्रीय राजनीति शुरू गरेका भण्डारी गणतन्त्रपछिका सरकारमा शायदै मन्त्री बन्न छुटेका छन् । केही समय अघिसम्म प्रचण्ड सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका भण्डारीले ओली सरकारमा पनि त्यही पोर्टफोलियो पाएका छन् ।

null

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग सम्बन्ध राखेका भण्डारीले पटक-पटक चुनाव जित्दै आएका छन् । बिजयकुमार गच्छदारको संगत छाडेपछि उनी महन्थ ठाकुरको पार्टीको उत्तराधिकारी बन्ने लाइनमा छन् । लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला मन्त्री बन्ने थियो तर अन्तिम अवस्थामा आएर भण्डारीले बाजी मारेका छन् ।

आरजु पहिलो पटकमै सातौँ वरीयतामा

पहिलो पटक मन्त्री बनेकी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु देउवा राणालाई मन्त्रिपरिषदमा सातौँ वरीयता दिइएको छ । उनी परराष्ट्रमन्त्री बनेकी छन् । ओली मन्त्रिपरिषद्‌मा रहेका २ महिला मन्त्रीमध्ये आरजुले महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएकी हुन् ।

यसअघि मन्त्री बनिसकेका कतिपय मन्त्रीलाई आरजुपछिको वरीयता दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजु प्रतिनिधि सभामा समानुपातिक सदस्य हुन् । यसअघि उनी कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन् ।

null

भूटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा प्रकरणमा संलग्नताको आरोप लगाउँदै निवर्तमान गृहमन्त्री रवि लामिछानेले आरजुलाई समात्ने प्रयास गरेको चर्चा चल्ने गर्छ । दोस्रोपटक समानुपातिक सांसद बनेकी उनलेले यसअघिको निर्वाचनमा कैलाली ५ मा प्रत्यक्ष चुनाव लडेकी थिइन्, तर पराजित भएकी थिइन् ।

पछिल्लो समय आरजुले भारतीय संस्थापन पक्षका नेताहरूसँग राम्रो सम्बन्ध बनाएकी छन् । भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेसँग 'राखी कुटनीति'मार्फत आरजुले भाजपामा आफ्नो सम्बन्ध बिस्तार गरेकी हुन् ।

उपेन्द्रको पार्टी फुटाएर निरन्तर मन्त्री बनेका प्रदीप

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट लगातार दोस्रोपटक निर्वाचित प्रदीप यादव तेस्रो पटक मन्त्री बनेका छन् । निवर्तमान प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री रहेका यादवले यसपटक खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् ।

null

पर्साबाट प्रत्यक्ष निर्वाचित सांसद यादव यसअघि शेरबहादुर देउवा सरकारमा वनमन्त्री बनेका थिए । यसअघि प्रदीपलाई मन्त्री नबनएको भन्दै उनीनिकट कार्यकर्ताले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिल्ला प्रवेशमा रोक समेत लगाएका थिए ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदी र लोसपाका लक्ष्मणलाल कर्णलाई पराजित गरी यादव निर्वाचित भएका थिए ।

प्रधानाध्यापकदेखि मन्त्रीसम्म बलराम अधिकारी

पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेका बलराम अधिकारीले ओली क्याबिनेटमा पनि निरन्तरता पाएका छन् । अधिकारी कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार चक्रपाणि खनाललाई पराजित गरी अधिकारी कपिलवस्तु-१ बाट निर्वाचित भएका सांसद हुन् ।

null

कास्कीको मादी गाउँपालिकामा जन्मेका अधिकारीको परिवार कपिलवस्तुमा बसाइ सरेर गएपछि उनी विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय बनेका थिए । अधिकारी लामो समय शिक्षण पेशामा लागेका नेता हुन् ।

पूर्णकालीन राजनीतिमा आउनुअघि सुन्दरी डाँडा मावि शिवगढीको प्रधानाध्यापक थिए खनाल । पूर्ववर्ती सरकारमा राम्रो काम गरेको भन्दै मन्त्रीमा दोहोरिनेमा अधिकारी पनि एक हुन् ।

प्रचण्ड सरकारकै निरन्तरता दामोदर भण्डारी

पूर्ववर्ती प्रचण्ड सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका दामोदर भण्डारी ओली सरकारमा पनि दोहोरिएका छन् । पछिल्ला निर्वाचनमा बैतडीबाट निर्वाचित रहँदै आएका भण्डारी विगतमा अर्थराज्य मन्त्री बनिसकेका छन् ।

null

२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका नरबहादुर भण्डारीलाई पराजित गरी भण्डारी विजयी भएका थिए । उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले मन्त्रालयमा सुधारका काम थालेको चर्चा चल्ने गरेको छ । मन्त्री बनेपछि उनले आफ्नो कार्यकक्षमा स्वदेशी उत्पादनका सामान प्रयोग गर्न थालेका थिए ।

सीके राउतको दाइलाई हराएका नवलकिशोर

उपेन्द्र यादवको पार्टी विभाजन गरेर जसपा नेपाल बनाउने काममा सक्रिय रहेका नवलकिशोर सुडीले ओली सरकारमा महिला बालबालिका मन्त्रालयको जिम्मा पाएका छन् । यसअघि प्रचण्ड सरकारमा उनी वन तथा वातावरण मन्त्रीको जिम्मामा थिए ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी-१ बाट चुनाव लडेका सुडीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाइ जयकान्त राउतलाई पराजित गरेका थिए । यसअघि मधेश प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका सुडीको कार्यकाल विवादमा बितेको थियो ।

राष्ट्रिय सभाका एकमात्र मन्त्री दाहाल

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता रहेका देवेन्द्र दाहालले मालदार मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको जिम्मा पाएका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका एमाले नेता दाहाल पहिलो पटक सांसद र मन्त्री बनेका हुन् । मन्त्री बन्नेको सूचीमा हिजोसम्म चर्चामा नरहेका दाहालले महत्वपूर्ण मन्त्रालय पाएका छन् ।

नेकपा एमालेको झापा जिल्ला अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य बनेका दाहालले विगतमा ओलीको सचिवालयमा बसेर काम गरेका थिए ।

झापाबाट प्रत्यक्ष निर्वाचित सांसद एलपी सावा लिम्बु मन्त्री बन्ने चर्चाबीच राष्ट्रिय सभा सदस्य दाहालले मौका पाएका हुन् । ओली सरकारमा राष्ट्रिय सभाबाट मन्त्री बन्ने दाहाल एक्ला सांसद हुन् ।

पटक-पटक आश्वासनमात्रै, यसपटक मौका पाएका तेजुलाल

पछिल्ला तीन निर्वाचनमा सप्तरीबाट लगातार चुनाव जित्दै आएका तेजुलाल चौधरी यसपटक युवा तथा खेलकुद मन्त्री बन्न सफल भएका छन् ।

null

यसअघि पटक-पटक मन्त्री बन्ने आश्वासन पाएर अन्तिममा धोका पाएका चौधरी यसपटक भने मन्त्री बन्न सफल भएका हुन् । चौधरीमाथि राष्ट्रपति रामचन्द्र पौडेलको समेत सदासयता रहेको कांग्रेसभित्र चर्चा छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले जसपाका बालकिशोर यादवलाई पराजित गरेका थिए ।

चौधरी ललितपुरमा रहेको नाइटिङ्गेल स्कुलका सञ्चालक हुन् । सरकारी शिक्षकको जागिर छाडेर चौधरीले निजी स्कुल सञ्चालन गरेका थिए ।

बाटो गगनको, तर अग्निपरीक्षामा प्रदीप

विद्यार्थी राजनीतिबाट उदाएका कांग्रेस नेता प्रदीप पौडेल पहिलो पटक संघीय सांसद हुँदै मन्त्री बन्न सफल भएका छन् । नरहरि आचार्यको लिगेसी रहेको काठमाडौं-५ बाट निर्वाचित पौडेलले सरकारमा स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण मन्त्रालय पाएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेर राजनीतिक उचाई लिएका थिए । एकपटक मात्र मन्त्री बनेका थापाले स्वास्थ्य क्षेत्रमा केही सुधारमा प्रयास थालेका थिए । स्वास्थ्य बीमा कार्यक्रम त्यसैको एउटा सुरूवात थियो ।

null

नेपाली कांग्रेसमा थापा, विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेललाई नयाँ र वैकल्पिक नेताका रूपमा हेर्ने गरिन्छ । सरकारी स्वास्थ्य सेवा कमजोर बनेको समयमा अस्पतालको साख फर्काउने गरी काम गर्नैपर्ने दबाबमा छन् पौडेल ।

पहिलोपटक मन्त्री बनेका प्रदीपका लागि यो परीक्षणकाल चुनौतीपूर्ण छ । सरकारमा गएर केही नयाँ काम गर्न नसकेको खण्डमा उनको आगामी राजनीतिक यात्रा सहज हुनेछैन । त्यही बुझेर पौडेलले काम नगरी खादा माला नलगाउने निर्णय गरेका छन् ।

सरकारी फ्लाट खोजिरहेका चौरसियलाई क्वाटर !

आर्थिक वर्ष २०८१/८२को बजेट माथिको छलफलमा बोल्ने क्रममा कांग्रेस सांसद अजयकुमार चौरसियाले काठमाडौंमा घर नहुने सांसदलाई अप्ठेरो छ भन्दै संसदमा दुखेसो गरेका थिए– केही साता अगाडि । सरकारले सांसदको लागि आवासको व्यवस्था गर्नुपर्छ भन्दै दुखेसो पोखेका चौसियाले त्यसको केही दिनपछि मन्त्री पद पाएका छन, त्यो पनि संसदीय मामिलासम्बन्धी ।

null

२०७९ सालमा पर्साबाट प्रत्यक्ष निर्वाचित चौरसिया सभापति देउवा पक्षका नेता हुन् । विमलेन्द्र निधिले सभापतिमा आफ्नो दाबी पेश गरेपछि देउवाले चौरसिया लगायतका नेतालाई मधेशमा सक्रिय बनाएका थिए । २०७८ सालमा देउवाले प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस टोलीलाई भारत भ्रमणमा पठाएका थिए, त्यो टोलीको एकजना सदस्य चौरसिया पनि थिए ।

बद्रीलाई संस्कृति मन्त्रालय

सोमवार बिहानसम्म पनि कांग्रेसको संस्थापनइतर समूहमा बद्री पाण्डेलाई पठाउने कि जीवन परियारलाई पठाउने भन्नेमा सहमति जुटेको थिएन । दुइमध्ये कसको नाममा सहमति गर्ने भन्ने निर्णय गर्न संस्थापनइतरलाई ज्वरो आएको थियो । यसपटक पाण्डेले बाजी मारे ।

null

नेविसंघको विद्यार्थी राजनीतिबाट कांग्रेसमा उदाएका पाण्डेले ओली सरकारमा महत्वपूर्ण जिम्मा पाएका छन् । पिछडिएको क्षेत्रबाट कांग्रेसको सहमहामन्त्री बनेका पाण्डे यसअघि राष्ट्रिय सभाको सदस्य भइसकेका नेता हुन् । २०७९ सालको प्रतिनिधि सभा चुनावमा एमालेका कर्ण थापालाई पराजित गरेर पाण्डे निर्वाचित भएका थिए ।

संस्थापनइतरका कैयौं आकांक्षीलाई पछि पार्दै पाण्डे मन्त्री बन्न सफल भए । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मा पाएका पाण्डेसामू कर्णालीका दुर्गममा नियमित हवाइ उडान गराउने चुनौती छ ।

कार्यभार सम्हाल्न पाएनन् रामनाथले

कांग्रेस संस्थापन इतरको सिफारिसमा मन्त्री बनेका धादिङका रामनाथ अधिकारीले सादगी नेताका रूपमा आफ्नो परिचय बनाएका छन् । नेपाली कांग्रेसको जिल्ला सभापति रहिसकेका अधिकारी कार्यकर्तामाझ भिजेका नेताको रूपमा चिनिन्छन् । २०७९ सालको चुनावमा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेर अधिकारी बिजयी भएका थिए ।

null

पहिलोपटक मन्त्री बनेका अधिकारीले मन्त्रालयमा कार्यभार सम्हाल्न पाएनन् । कृषि मन्त्रालय अन्तर्गतका कर्मचारीले केही दिनदेखि गरिरहेको आन्दोलनका कारण अधिकारीले कार्यभार सम्हाल्न पाएनन् । उनले मन्त्रालयको ढोकामा पुगेर सम्बोधन गरेर फर्किए ।

विद्या  भट्टराईः उपप्रध्यापकदेखि शिक्षामन्त्रीसम्मको यात्रा

कास्कीबाट दुइपटक प्रत्यक्ष निर्वाचित भएकी नेकपा उमाले सांसद विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भट्टराई कास्की-२ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसअघि २०७६ सालमा भएको उपनिर्वाचनमा पनि उनी निर्वाचित भएकी थिइन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि विद्या सक्रिय राजनीतिमा आएकी हुन् ।

null

सक्रिय राजनीतिमा आउनुपूर्व विद्या त्रिभुवन विश्वविद्यालयमा उपप्रध्यापकको भूमिकामा थिइन् । सांसदको रूपमा उनले प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । विश्वविद्यालयमा करिअर बनाएकी विद्याले शिक्षा मन्त्रालयको जिम्मा पाएकी हुन् ।

२०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न प्रस्ताव गरिएपनि उनले आफ्नो अनुभव नपुगेको भन्दै मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

'लो प्रोफाइल'का मानवीरलाई उँचो मन्त्रालय

नेकपा एमालेको राजनीतिमा ‘लो प्रोफाइल’मा रहेर काम गरेका मानवीर राईले २०७९ सालको चुनावमा एमालेलाई सोलुखुम्बुबाट जित दिलाएका थिए । स्थानीयमाझ लोकप्रिय रहेकै कारण राईले गठबन्धनका उम्मेदवार कांग्रेसका बलबहादुर राईलाई पराजित गरेका थिए ।

null

कांग्रेस र माओवादीले आलोपालो जित निकालेको ठाउामा मानवीरले एमालेलाई जित दिलाएका थिए । जिल्लाबासीहरु उनलाई सादगी नेताको रूपमा चिन्ने गरेका छन् । ओली सरकारमा राईले रक्षा मन्त्रालयको जिम्मा पाएका छन् ।

कांग्रेसको समीकरण बदलेका दीपक खड्का

२०७८ सालमा कांग्रेस महाधिवेशनमा संस्थापन इतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिको साझा उम्मेदवार बनाउने गरी कोइराला परिवारका सदस्यहरूबीच सहमति भएको थियो ।

पत्रकार सम्मेलन गरेरै शेखरलाई सभापतिमा अगाडि सार्ने सहमति सार्वजनिक गर्ने तयारी रहेको समयमा डा. शशांक कोइराला आरामका लागि भन्दै हेलिकप्टरमा संखुवासभा पुगे । शशांकलाई हेलिकप्टरमा सवार गराउने मात्र उनी थिए दीपक खड्का ।

null

जलविद्युत लगायत विभिन्न व्यवासायमा संलग्न खड्कालाई नै कांग्रेसको समीकरण बदल्ने नेताको रूपमा लिइन्छ । कांग्रेसको जिल्ला सभापति रहिसकेका खड्का २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडा लगाउने प्रकरणमा उनी विवादमा तानिएका थिए ।

पप्पुलाई हराएर सांसद बनेका राजकुमार गुप्ता

वीरगञ्जका व्यापारिक परिवारका सदस्य राजकुमार गुप्ताले सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मा पाएका छन् । पर्साको बहादुरमाई नगरपालिकाका स्थानीय उनका बुबाले पर्सामा धानको व्यापार गर्ने गरेका थिए । व्यापार गर्दागर्दै उनी राजनीतिमा आकर्षित भए ।

null

नेकपा एमालेको युवा संगठनबाट राजनीति शुरू गरेका राजकुमार २०७० सालको संविधानसभा चुनावमा कांग्रेसका सुरेन्द्र चौधरीलाई पराजित गर्दै पर्सावाट बिजयी भएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा जसपाका हरिनारायण रौनियार ‘पप्पु’लाई पराजित गरेर उनी निर्वाचित भए ।

दुर्गम हिमाली जिल्लाबाट  मन्त्री  बनेका  शाही

केपी ओली सरकारमा अन्तिम वरीयताको मन्त्री बनेका छन्, कांग्रेस सांसद ऐनबहादुर शाही । दुर्गम हिमाली जिल्ला मुगुका कांग्रेस सांसद शाहीले वन तथा वातावरण मनत्रालयको जिम्मा पाएका छन् । कांग्रेसको जिल्ला सभापति रहेका शाही नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेर सांसद बनेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्