रुकुम पश्चिमको आठबीसकोटमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन् ।
मृतक तीनैजना बालबालिका हुन् । मृत्यु हुनेमा १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्की छन् । घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका हुन् ।
सोमवार राति आएको बाढीले सातजना घाइते भएको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीले लोकान्तरलाई जानकारी दिए ।
बाढीले घर बगाउँदा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका हुन् ।
मेयर केसीले बेपत्ताको खोजी भइरहेको र घाइतेहरूको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको बताए ।
आठबीसकोटस्थित गिजागार खोलामा आएको बाढीले बाढीले आठबीसकोट नगरपालिका १२ को झिन्चौरमा घर बगाएको हो ।