२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

एक वर्षमा झण्डै साढे ७ लाख बिदेसिए, बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी

साउन ३, २०८१
काठमाडौं
एक वर्षमा झण्डै साढे ७ लाख बिदेसिए, बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ ।
००००
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबारसम्म १ सय २४ जनाको मृत्यु भएको छ ।

 बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
००००
चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । 

प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत  एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका छन्, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”  
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन् । 

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गरेका हुन् ।
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन्।

मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रीफिङसहितको भेटघाटमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।
००००
सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालू आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ ।

विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो । उक्त मार्गदर्शन ७३ बुँदामा समावेश छ । 
००००
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्त्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु पर्ने बताए ।
००००
नेपाल वायुसेवा निगमले ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएको २ न्यारोबडी र २ वाइडबडी जहाजको असार मसान्तसम्मको ऋण भुक्तानी गरिएको हो ।
००००
राजस्व अनुसन्धान विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा रहेको बैंकमा खाता खोलेर कारोबार गरेको आरोपमा उनीविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । 
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ ।

नेप्से परिसूचक बुधबार ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय  ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।
००००
वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।

बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन् ।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा मनोनयन गरेका हुन् ।
००००
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटेका छन् । बुधवार मन्त्री देउवाकै कार्यकक्षमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको उनले बताएका छन् । 
००००
काठमाडौं महानगरले न्युरोडको फुटपाथ बढाउने काम फेरि शुरू गरेको छ ।

उच्च अदालतको आदेशपछि महानगरले न्युरोडमा फेरि फुटपाथ विस्तारको काम अघि बढाएको हो । मेयर बालेन र सडक विभागबीच यस सडकबारे विवाद हुँदै आएको  थियो । 
००००
मधेश प्रदेश सरकारले गत असार २८ गते सिमलतालस्थित त्रिशूली नदीमा बस दुर्घटनामा परेका प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेशका जिल्लाका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

००००
आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार एक वर्षमा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर बिदेसिएका हुुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्