
चितवन- चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)को तीन तलाबाट खसेर घाइते भएका बिरामीको मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चामगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चामगर साउन २ गते अस्पताल भर्ना भएका थिए । तर उनी बिहीवार बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ब्लकस्थित तेस्रो तलाको झ्यालबाट खसेका थिए ।
त्यसबाट गम्भीर घाइते भएका खाम्चामगरको सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । –रासस–