
श्रीलंकामा आजदेखि नवौं संस्करणको एसीसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता शुरू हुँदैछ । उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा शुरू हुनेछ ।
एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार ब्यहोरेको थियो ।
सन् २०१२ र २०१६ मा जस्तै यो पटक पनि एसिया कप टी–२० फर्म्याटमा हुन गइरहेको छ ।
समूह ‘ए’मा रहेको नेपालले जुलाई २१ मा पाकिस्तानविरुद्ध र २३ मा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपाल यो वर्ष छनोट चरणबाटै बाहिरिएको थियो । एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको एसीसी विमिन्स प्रिमियर कपको सेमिफाइनलमा पराजित भएपछि नेपाल छनोट हुन विफल भएको थियो ।
पूर्वनिर्धारित नियमअनुसार फाइनलमा पुग्ने दुई टोलीले एसिया कपमा आफ्नो स्थान पक्का गरे । यूएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका थिए ।
तर पछि एसीसीले सेमिफाइनल खेल्ने टोलीलाई पनि एसिया कपमा समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले मौका पाएका हुन् ।
समूह ‘ए’कै अर्को खेलमा भारत र पाकिस्तान आमने–सामने हुँदैछन् ।
नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् । टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।