
कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ ।
यस्तै मुस्ताङमा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव सशस्त्र प्रहरीले निकालेको छ ।
पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा सो नदीमा डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले उनीहरूको शव फेला पारेको हो ।
फेला परेका दुवै जनाको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको शव नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ जिल्लाको गढवा गाउँपालिका–१ बस्ने ३० वर्षीय रवि दर्लामी मगरलाई नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरेको थियो ।