
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्त्वपूर्ण भएको बताएका छन् ।
सङ्खुवासभा-काठमाडौं पत्रकार सङ्घ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट निर्वाचित मन्त्री खड्काले यस्तो बताएका हुन् ।
स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उनले आफ्नो मुख्य प्राथमिकतामा सङ्खुवासभाको विकास रहेको समेत बताए ।
उनले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नती गर्न सकिने उल्लेख गरे । 'सङ्खुवासभावासीको शिर निहुरिन नदिने गरी काम गर्नु छ, म धेरै आशा बाँड्दिन सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु,' उनले भने ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गरे ।
उनले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिए ।