
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको लोकान्तरलाई जानकारी दिए ।
प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा यसअघि नै अल्पमतमा परेका थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
केन्द्रमा नेपाली कांग्रेससँग सत्ता साझेदारीको सहमति भएपछि एमालेले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको थियो । यसपछि सरकारमा सहभागी ५ जना मन्त्रीले राजीनामा दिएका थिए । लुम्बिनीमा अब कांग्रेस र एमाले नयाँ सरकार बनाउन जुटेका छन् । रोल्पाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महरा २३ चैतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ११ दलको प्रतिनिधित्व छ । लुम्बिनीमा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनता समाजवादी पार्टी (जसपा) २, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका १–१ जना सांसद छन् ।
यता कांग्रेस र एमाले संसदीय दलले मुख्यमन्त्री जोखबहादुर महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शनिबार कांग्रेस–एमालेको दलको संयुक्त बैठक बसेर सांसदहरूलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे बताए ।
कांग्रेस संसदीय दल प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले आइतबार बिहान कांग्रेस–एमालेको संयुक्त बैठक बसेर थप रणनीति बनाइने बताए ।