
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर साधारणतया बदली रहेको विभागले आइतवार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।
बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी अधिकांश प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आइतवार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आइतवार राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिमका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार सुदूरपश्चिमका धेरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
विभागले मौसम बुलेटिनमा भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।