
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये चार शवको पोस्टमार्टम डेटा संकलन गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डाक्टर गोपालकुमार चौधरीका अनुसार हिजो रातिसम्म चारवटा शवको पोस्टमार्टम डेटा कलेक्सन गरिएको हो ।
आज बाँकी १४ वटा शवहरूको पोस्टमार्टम डाटा संकलन गर्ने कार्य शुरू भएको उनले बताए ।
अनुहार र शरीरका विभिन्न भागहरू डढेर नचिनिने अवस्थामा रहेका कारण पोस्टमार्टम डाटा र एन्टिमोटम डाटा संकलन गर्ने काम भइरहेको उनको भनाइ छ ।
अस्पतालमा तीनवटा छुट्टाछुट्टै टोलीले ती विवरण संकलन गर्ने काम गरिरहेका छन् ।
आज डेटा संकलनको काम सकिसकेपछि भोलिदेखि फिङ्गरप्रिन्टको आधारमा तथा संकलित विवरणको आधारमा म्याचिङ गरेर शव पहिचान गर्ने काम हुने डाक्टर चौधरीले बताए ।
सबैको पोष्टमार्टम गरिसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।
डा. चौधरीका अनुसार एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्छ । सबै १८ वटा शव पोष्टमार्टम गरिसकेर आफन्तलाई भोलि शुक्रबारसम्म बुझाउन सकिने उनले बताए ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट मनिषरत्न शाक्यबाहेक १८ जनाको ज्यान गएको छ ।
पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ । उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् ।