१३ असार २०८३, शनिबार

दुई एसपीको अनुचित लेनदेनः गाई-गोरु तस्करदेखि माछा व्यापारीसम्मलाई नछोडेको आरोप

सीडीओ भन्छन्– छानबिन गर्छु
साउन १०, २०८१
विराटनगर
दुई एसपीको अनुचित लेनदेनः गाई-गोरु तस्करदेखि माछा व्यापारीसम्मलाई नछोडेको आरोप
एसपीद्वय नवराज कार्की र तिलक प्रसाईँ ।

मोरङका दुई एसपी (प्रहरी उपरीक्षक)हरूको विवाद अनुचित आर्थिक लेनदेनमा जोडिएपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ । 

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की र राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का उपअनुसन्धान निर्देशक (याे पद एसपीसरह हो) तिलक प्रसाईँले तस्कर र अन्य व्यापारीसँग पैसा उठाएको चर्चा जिल्लामा व्याप्त छ । 

तस्करसँग सेटिङ गरेर रकम असुलेको भन्दै उनीहरूविरुद्ध प्रधानमन्त्री कार्यालय सिंहदरबारदेखि विभिन्न कार्यालयमा उजुरी समेत परेको छ । छुट्टाछुट्टै उजुरीको निवेदन लेखाइ फरक भए पनि उनीहरूले उठाउने गरेको रेट र व्यक्ति भने एउटै रहेको उजुरीमा उल्लेख छ । लोकान्तरलाई प्राप्त उजुरीअनुसार दुई एसपीबीच लेनदेनमा कुरा नमिलेपछि आफू निकटका व्यापारी प्रयोग गरेर एकले अर्काविरुद्ध उजुरी हालेको पाइएको छ ।

उजुरीमा उल्लेख भएका नामअनुसार नेपाल प्रहरीका एसपी कार्कीले मासिक रुपमा कपडा व्यापारीहरू बब्जु गाडेबाट १ लाख, सवनम कपडा पसलबाट १ लाख, ओम मण्डल कपडा पसलबाट १ लाख, गणेश मण्डल कपडा पसलबाट ५० हजार र लगडी कपडा पसलबाट ५० हजार रुपैयाँ लिने गरेको उजुरीमा उल्लेख छ । 

यस्तै एसपी कार्कीले गुड्डु मिया कपडा पसलबाट ५० हजार, सुरेश यादव कपडा पसलबाट १ लाख, लक्ष्मण रौनियारको कपडा पसलबाट ४३ हजार, आनन्दबाट २५ हजार, दिरुकालीबाट ४० हजार, जिलानीबाट ३५ हजार, रेनुलिपस्टिकबाट ५० हजार, मिथुन कपडा पसल तथा हार्डवेयरबाट ५० हजार लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । 

यस्तै गाई–गोरु अवैधरुपमा भारत निकासा गर्नेहरूबाट पनि सुरक्षा निकायहरूले पैसा असुल्ने गरेको खुलेको छ । पहाडबाट गाई–गोरु संकलन गरेर खुला सीमानाको फाइदा उठाउँदै व्यापारीहरूले अवैधरुपमा भारत पठाउने गरेका छन् । गाई–गोरु तस्करी गर्ने जीवन कार्कीबाट दुई जिल्लाले छुट्टाछुटै हस्ता उठाउने गरेको पाइएको छ । सुनसरीबाट २ लाख र झापाबाट १ लाख गरी मासिक ३ लाख जीवन कार्कीबाट लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । गाई–गोरु नै तस्करी गर्ने शौयाद मियाँबाट प्रहरीले ५० र पर्वत साहबाट १ लाख रुपैयाँ लिने गरेको उजुरीमा उल्लेख छ । 

यसरी जिल्लाको कमान्ड गर्ने प्रहरी नेतृत्वविरुद्ध रकम नै उल्लेख गरेर उजुरी पर्दासमेत छानबिन नहुनुलाई आश्चर्यको रुपमा हेरिएको छ । अहिले भारतबाट माछा ल्याउन कडाइ गरिएको छ । तर पनि व्यापारीहरूले खुला सीमाको फाइदा उठाउँदै माछा नेपाल भित्र्याउँदै आएका छन् । ‘मरेको माछामा समेत प्रहरीले कमिसन माग्ने गरेका छन्,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने ‘पैसा भए स्वास्थ्य कसले हेर्छ र सर !’ 

नेपाल प्रहरीका कार्की र राअविका एसपी प्रसाईँले टिंकु सहनी माछा पसलबाट ५० हजार, दिलीप सहनी माछा पसलबाट १ लाख, लिलिमबाट ५० हजार रुपैयाँ लिएको उजुरी परेको छ । 

यस्तै कुन्दन डल र राजकुमार रौनियारबाट ५०–५० हजार रुपैयाँ लिने गरेको उजुरीमा उल्लेख छ । उनीहरू दुवैजना भन्सार एजेन्ट हुन् । अरु त अरु कुखुरा पसलबाट समेत प्रहरी र राअविका अधिकारीले मासिक ३५ हजार रुपैयाँ उठाउने गरेको उजुरी परेको छ । बन्सुन कुखुरा पसलबाट मासिक ३५ हजार उठाउने गरेको उजुरीमा उल्लेख छ । 

प्रहरीले व्यापारी र तस्करबाट मासिकरुपमा असुली गर्दै आएको रहेछ नि भन्ने प्रश्नमा मोरङ प्रहरी प्रमुख कार्कीले भने,‘ बेनामे उजुरी जोसुकैले पनि हाल्न सक्ने भयो, तर, तथ्य र प्रमाण नभइ आरोप मात्र लगाएर केही हुँदैन ।’ 

निवेदनमा असुल गर्ने गरेको रकम र दिने व्यक्तिको नाम तथा फोन नम्बर पनि उल्लेख गरिएको रहेछ नि भन्ने प्रश्नमा एसपी कार्कीले भने,‘ मैले उजुरी हेरेको छैन । जहाँसम्म तपाईँले भनेका नामहरू छन् । ती विगत ५–७ वर्षदेखि प्रहरीसँग जोडिएका नाम हुन्, मैले कसैसँग एक पैसा पनि उठाएको छैन ।’ 

राअविका एसपी प्रसाईँले आफ्नो काम सूचना संकलन गर्ने मात्रै रहेको बताए । उनले भने, ‘मैले कसैसँग पैसा उठाएको छैन, मेरो काम सूचना संकलन गर्नु हो ।’ 

मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले जिल्ला सुरक्षा समितिको बैठकमा दुई एसपीले तस्कर र व्यापारीबाट रकम उठाएको विषयमा छलफल भएको बताए । उनले भने, ‘यो विषयमा के हो भनेर तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरियो । छानबिन समिति बनाएरै छानबिन गर्छु ।’ छलफलमा एसपीद्वय कार्की र प्रसाईँले तस्करी हन नदिन कडाइ गरेको र रकम कसैसँग नउठाएको प्रष्टीकरण दिएका थिए । 

मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सशस्त्रका एसपी विश्व खड्का र राष्ट्रिय अनुसन्धानका एसपी तिलक प्रसाईँका विरुद्ध प्रधानमन्त्री कार्यालयसहित उच्च तहमा तस्करसँग मिलेमतो गरी रकम असुलेको उजुरी परेको थियो । तर, त्यसबारे उपल्लो तहबाट गम्भीर अनुसन्धान भएको छैन । बरु सुरक्षा निकायका प्रमुखहरू एकअर्कालाई तस्करसँग मिलेको आरोप लगाइरहेका छन् । सीमा क्षेत्रमा घुमुवा परिचालन गरेर तस्करी खुलाएको र व्यापक पैसा उठाएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्