
बुधवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जनाको शव आफन्तले बुझेका छन् । शुक्रवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ ।
जहाज दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शुक्रवार शव बुझेको जनाइएको छ । बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् ।
जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनीषरत्न शाक्य घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।