राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)को आयोजनामा दुई दिने व्यक्तित्व विकास तथा ‘फ्ल्यास फोटोग्राफी’ तालिम सम्पन्न भएको छ ।
एनएफपीजे नेपालको केन्द्रीय समितिका १३ जना फोटोपत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताए ।
अध्यक्ष वन्तले विभिन्न सञ्चार माध्यममा आबद्ध फोटो पत्रकारहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटो पत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा नेपालभरका फोटोपत्रकारलाई यस्ता तालिम उपलब्ध गराउन एनएफपीजे नेपाल लागिपर्ने बताए ।
दुई दिने तालिममा नेपाल फोटोग्राफर महासङ्घका महासचिव डिगम्वर राजवंशीले क्यामेरामा प्रयोग हुने फ्ल्यास कसरी प्रयोग गर्ने र विश्वमा उपलब्ध फ्ल्यासबारे जानकारी गराए ।
त्यस्तै, व्यक्तित्व विकाससम्बन्धी अक्षरा स्कूलका प्रमुख कार्यकारी अधिकृत तथा ‘मोटिभेसनल स्पिकर’ राजेश शर्माले संस्थाको हकहित साथै कसरी फोटो पत्रकारको व्यक्तित्व विकास गर्न सकिन्छ भन्ने विषयमा प्रवचन दिएका थिए ।
उनले आत्मविश्वास बढाउने ‘पहिरन’ कसरी लगाउने, भोलिका दिनमा कसरी आफूलाई गुणस्तरीय फोटो पत्रकारितामा सहभागिता गराउने भन्नेमा तालिममा सहभागीलाई जानकारी गराएका थिए ।