नेपाली लोकरकको अग्रणी ब्यान्ड नेपथ्यले आगामी महिना अमेरिकामा श्रृंखलाबद्ध सांगीतिक प्रस्तुति दिने भएको छ ।
नेपथ्य छैठौंपटक सांगीतिक कार्यक्रम लिएर अमेरिका जान लागेको हो । यसपटकको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक-फरक शहरमा प्रस्तुति दिने तय भएको नेपथ्यले जनाएको छ ।
संगीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्ट ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर शहरमा कार्यक्रम गर्नेछ ।
डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यको प्रस्तुति हुन लागेको हो ।
त्यसपछिको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध शहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्ट १० तारिखका दिन हुने आयोजकले जनाएको छ । क्यालिफोर्निया राज्यको यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ ।
तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा अगस्ट १७ तारिखका दिन नेपथ्यले आफ्नो प्रस्तुति दिनेछ ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्यान्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य पुन: प्रस्तुत हुन लागेको हो ।
यसपालि ब्यान्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफूलाई उभ्याउँदैछ । विशाल एवं भव्य आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकलाई अगस्ट २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट लिएको ब्यान्डले जनाएको छ ।
अर्को प्रस्तुति न्यूयोर्कको म्यानहटनस्थित ‘टर्मिनल फाइभ’मा अगस्ट ३० तारिखको साँझ हुनेछ ।
त्यसपछि सेप्टेम्बर १ तारिखका दिन होटल मेरिल्यान्डस्थित ‘द हल एट लाइभ !’ र अन्तिम कन्सर्ट पेन्सिलभानियाको ह्यारिसवर्गस्थित ‘द फोरम अडिटोरियम’मा सेप्टेम्बर ७ मा हुने आयोजकले जनाएको छ ।
नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङ्टन डीसीमा पहिलोपटक कार्यक्रम गरेको थियो । त्यसपछिका वर्षहरूमा उसले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।
गत वर्ष मात्रै छेवैको क्यानाडामा श्रृंखलाबद्ध सांगीतिक यात्रा गरेको ब्यान्डले अमेरिकामा भने कोभिड महामारीपछि यो पहिलो यात्रा गर्न लागेको हो । यसपालिको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ ।
कलाकार, प्राविधिक र व्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ ।
अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाएको आयोजकले जनाएको छ ।
त्यसका लागि अधिकारिक वेबसाइट nepathya.com.np मार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिने नेपथ्यले जनाएको छ ।