
नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सौर्य एयरको जस्तो इन्जिन भएका जहाज अन्त पठाउनु पर्ने बताएका छन् । महिनामा १० दिन चलेर २० दिन बिग्रिने जहाजलाई अन्त पठाउनु पर्ने उनको भनाइ छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद तामाङले सौर्यको विमानको जस्ता इन्जिन भएका जहाज विदेशतिर पठाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘संसद्मा आउनुभन्दा पहिले २२ वटा एयरपोर्ट बनाउने पाएँ, लुक्लादेखि तुम्लिङटारसम्मका पहाडी विमानस्थल बनाएँ । ३ करोडको इक्युप्मेन्ट लुक्लामा अझै अलपत्र छ । २०५७ साल यता पाइलटबाहेक धेरै विमान चढ्ने २५ जनामा म पर्छु होला । मैले पनि त्यो सौर्यको प्लेन निकै चढेँ,’ तामाङले संसद्मा भने, ‘एक महिनामा १० दिन चल्ने २० दिन बिग्रने सौर्यकै खालका इन्जिनका नेपालमा छन्, यस्ता इन्जिन चलाउन भएन । यस्ता जहाज अन्त पठाउने हो कि ?’
तामाङले बोल्दा संस्कृति पर्यटनमन्त्री बद्री पाण्डे संसद्मा उपस्थित थिए ।
साउन ९ गते सौर्य एयरको जहाज दुर्घटनाप्रति दुख: व्यक्त गर्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।