
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला जाँदै छन् ।
एशियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक)को यही जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
मलेसिया एयरलाइन्सको विमानबाट आज राति ११ः३० बजे मनिला जान लागेका अध्यक्ष यादवसँगै जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहनेछन् ।
अध्यक्ष यादवले जुलाई ३१ मा प्रोग्रेसिभ अलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
जुलाई ३० का दिन विदेश विभाग प्रमुख अर्जुन थापाले समेत सम्बोधन गर्नेछन् ।
सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरु सहभागी हुँदैछन् । जुलाई २९ मा उद्घाटन हुने उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ ।
त्यस अवसरमा अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटिजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी हुने कार्यक्रम छ ।
जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य हो ।
अध्यक्ष यादव यही साउन १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।