
भारतको महाराष्ट्रको कल्याणबाट विगत ९ वर्षमा २० जनाभन्दा बढी महिलासँग विवाह गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ती व्यक्तिले महिलासँग विवाह गरेर ठगी गर्ने गरेका थिए । पक्राउ पर्नेमा ४३ वर्षीय फिरोज नियाज शेख रहेका छन् ।
महिलासँग विवाह गरेर उनले तिनीहरूको बहुमूल्य चीजहरू लैजाने गरेका थिए ।
नाला सोपारा निवासी एक महिलाले फिरोज नियाज शेखविरुद्ध उजुरी दिएकी थिइन् । उजुरी गर्ने महिलाका अनुसार अभियुक्तले एक वैवाहिक वेबसाइटमा उनीसँग मित्रता बनाएका थिए । त्यसपछि बिहे गरे ।
समाचारमा जनाइएअनुसार प्रहरीले आरोपीको साथबाट ल्यापटप, मोबाइल फोन, डेबिट कार्ड, क्रेडिट कार्ड, चेकबुक र गरगहना बरामद गरेको छ ।
अभियुक्त फिरोजले सम्बन्धविच्छेदित र विधवा महिलालाई वैवाहिक साइटमा सम्पर्क गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसपछि उनले महिलासँग विवाह गरेर उनीहरूको बहुमूल्य वस्तु लुट्ने गर्थे ।
अहिलेसम्मको अनुसन्धानमा अभियुक्तले २०१५ देखि विगत ९ वर्षमा २० भन्दा बढी महिलालाई ठगी गरेको खुलासा भएको छ । आरोपीले महाराष्ट्र, मध्यप्रदेश, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत देशका विभिन्न भागका महिलालाई ठगी गर्ने गरेका थिए ।