
चौतर्फी विवादपछि कृष्णमान प्रधानले निर्वाचन आयुक्तका लागि गरिएको सिफारिश आफै फिर्ता लिएका छन् ।
प्रधानको नाम अनुमोदन गर्ने या नगर्ने विषयमा संसदीय समिति अनिर्णित रहेको समयमा प्रधान आफैले नाम फिर्ता लिएका हुन् ।
निर्वाचन आयुक्त सिफारिश गर्ने निर्णय फिर्ता गर्न उनले संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिमा निवेदन दिएका हुन् । प्रधानले आफ्नो नाम फिर्ता गर्न निवेदन दिएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
प्रधानको नाममा निर्णय गर्न सोमबार बिहानका लागि तोकिएको बैठक साँझ ५ बजेका लागि सारिएको छ ।
‘आफूमाथि प्रश्न उठेकाले संसदीय सुनुवाइको आगामी प्रक्रिया अगाडि नबढाउनु भन्ने आशयले उहाँले निवेदन दिनुभएको छ, साँझ ५ बजे बस्ने बैठकमा छलफल हुन्छ,’ संसद्का एक उच्च पदाधिकारीले लोकान्तरलाई जानकारी दिए ।
सिफारिश भएको ४५ दिनभित्र संसदीय समितिले निर्णय गर्न नसके प्रस्तावित व्यक्ति स्वतः अनुमोदन भएको मानिने नियमावलीको व्यवस्था थियो ।
पूर्ववर्ती पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको संवैधानिक परिषद्ले प्रधानलाई निर्वाचन आयुक्तको लागि सिफारिश गरेको थियो ।
प्रधान कार्यकारी निर्देशक रहेको नेपाल कानून समाजको कार्यालयमा काम गरेकी एक महिलाले आफूमाथि यौन शोषण भएको भन्दै संसदीय सुनुवाइ समितिमा निवेदन दिएकी थिइन् ।