
मकवानपुरगढी गाउँपालिका– १ फूलबारीका माइला भन्ने धनबहादुर स्याङ्तानको आपराधिक पृष्ठभूमि गजबको छ ।
२०६९ जेठ २८ मा भएको लुटपाट र जबर्जस्तीकरणी मुद्दामा उनले ११ वर्ष ६ महिना २४ दिन जेल सजाय काटेका थिए ।
ललितपुरका खोकनामा सञ्चालित एक बालगृहमा खुकुरी र पेस्तोल देखाएर दुई लाख ७६ हजार लुटपाट गरी पीडित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनी नख्खु कारागार चलान भएका थिए । उनी गत वर्ष माघ ११ गते मात्रै जेलबाट छुटेका हुन् ।
स्याङ्तानले विगतको आपराधिक पृष्ठभूमिलाई अहिले पनि निरन्तरता दिएको पाइएको छ । जब उनी पक्राउ परे, त्यही साउन १२ गते नागर्जुन नगरपालिकास्थित स्युचाटारबाट ।
उनले हाइकिङमा गएका ६ जना सर्वसाधरणलाई खुकुरी देखाएर लुटपाट गरेका थिए ।
छिमेकी अमिर लामा, भाञ्जा प्रविन शाही र छोरा सुरज स्याङ्तानलाई समेत साथमा लिएर उनले लुटपाट धन्दालाई निरन्तरता दिएको खुलेको छ ।
नागर्जुनको विन्दवासीनी जंगलमा खुकुरी देखाएर स्याङ्तानको समूहले ७ तोला ६४ ताल बराबरको सुनको गरगहना, चाँदीको ब्रासलेट र १३ हजार ४ सय रुपैयाँ लुटपाट गरेर भाग्दै गर्दा प्रहरीले छेकारो हानेर स्याङ्तानलाई पक्राउ गरेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा स्याङ्तानले यसअघि २०८० चैत १२ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका चाखेल देउरालीमा इन्द्रकुमारी लामाले सञ्चालन गरेको टहरामा समेत लुटपाट गरेको खुलेको छ ।
त्यतिबेला लामा र उनका छोरा नवबुद्ध लोलाई खुकुरी प्रहार गरी घाइते बनाएर टहराबाट १ लाख सात हजार रुपैयाँ सुनका गरगहना समेत लुटी स्याङ्तानको समूह भागेको थियो ।
घटनास्थलमा स्याङ्तानले नोकिया मोबाइल छाडेर भागेका थिए । प्रहरीले सीमकार्ड दर्ता अभिलेख हेर्दा उनकी श्रीमतीको नाममा दर्ता रहेको खुलेको थियो ।
फर्पिङमा समेत गत असारमा स्याङ्तानले लुटपाट गरेको रहस्य खुलेको छ । बिहानै हाइकिङमा हिँडेका ७ जना सर्वसाधारणलाई खुकुरी देखाएर उनीहरूको साथमा रहेको ८ वटा मोबाइल लुटेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यतिबेला लुटिएको मोबाइलमध्ये एउटा स्याङ्तानकै साथबाट फेला परेपछि उनले नै लुटपाट गरेको तथ्य प्रमाणित भएको हो ।
बूढानीलकण्ठ क्षेत्रमा चारपटक लुटपाट
बूढानीलकण्ठ क्षेत्रमा चारपटक लुटपाट भएको घटनामा समेत स्याङ्तानकै संलग्नता खुलेको छ ।
गत असार २८ गते राति नौ बजे बूढानीलकण्ठ नगरपालिका– ३ स्थित तारेभीरतर्फ जाने क्रममा गिरिजा शान्ति पार्कमा दुई जनालाई खुकुरी देखाएर दुई थान मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।
स्याङ्तानले पीडित महिलालाई जबर्जस्तीकरणीको प्रयास समेत गरेका थिए । राति नौ बजेदेखि बिहान चार बजेसम्म हात बाँधेर राखी करणीको प्रयास गरेका स्याङ्तानलाई पीडित महिलाले आफू रजस्वला भएको बताएपछि छाडेका थिए ।
असार २९ गते बिहान साढे १० बजे बूढानीलकण्ठस्थित बागद्वारतर्फ हाइकिङजाने क्रममा दीपक शर्मा पोख्रललगायत ६ जना व्यक्तिलाई खुकुरी देखाएर ६ वटा मोबाइल र दुईवटा घडी लुटपाट गरेको घटनामा समेत स्याङ्तानकै संलग्नता खुलेको छ ।
सोही दिन स्याङ्तानले राति ८ बजे बूढानीलकण्ठकै गिरिजा शान्तिपार्कतर्फ जाने क्रममा दिनेश पोख्रेल र अर्का एकजनालाई खुकुरी देखाएर लुटपाट गरेका थिए ।
असार २९ मै सोही पार्क जानेक्रममा प्रवीण शेर्मा (लिम्बू)बाट स्याङ्तानको समूहले दुईवटा मोबाइल, सुनको औंठी र सिक्री लुटपाट गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार स्याङ्तान पछिल्ला हाइकिङ टोलीलाई लुटपाट गर्ने समूहका नाइके हुन् ।
‘लगातार हाइकिङ टोली लुटिएपछि प्रहरीलाई तनावको स्थिति थियो, हामीले जसरी हुन्छ पक्राउ गर्ने रणनीति अनुसार टोली परिचालित गरेका थियौं,’ एसपी अधिकारीले लोकान्तरसँग भने, ‘यही बीचमा नागार्जुन नगरपालिकास्थित विन्दबासिनी जंगलमा लुटपाट भएको घटनामा कर्डन ड्युटी राखेर नियन्त्रणमा लिन सफल भयौं ।’
स्याङ्तानले लुटपाटमा संलग्न ३ जनालाई भगाएको र उनीहरूको खोजी भइरहेको अधिकारीले जानकारी दिए ।