
पश्चिम नवलपरासी र दाङमा दुई जनाको हत्या भएको छ ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ हर्दीका २० वर्षका सूर्यकुमार बढईको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार घरमा सुतिरहेको समयमा आइतबार राति उनको घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएको छ ।
यता दाङको राजपुर गाउँपालिका–१ रसरी खोलाका गणेश घर्तीले फलामको रड प्रहार गरी श्रीमती वसन्तीको हत्या गरेका छन् ।
हत्यामा संलग्न भएको आरोपमा घर्तीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
दुवै जना आइतबार बेलुकासँगै खाना खाएर कोठामा सुत्न गएका थिए ।
तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको खुलेको थियो ।
गणेशलाई फलामको रडसहित सोही कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।