
काठमाडौं, १० कात्तिक – तेश्रो राष्ट्रिय अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक शल्यक्रिया) सम्बन्धि सम्मेल शुक्रबार देखि काठमाडौंमा सुरु हँुदैछ ।
आँखाको प्लाष्टिक शल्यक्रिया सेवामा नैतिक, गुणस्तरीय र आवश्यक सेवा उपलब्ध गराउने र शल्यक्रिया बिधीमा आकर्षण गर्ने उद्धेश्यले सम्मेलन हुन लागेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।
शुक्रबार र शनिबार दुई दिन चल्ने सम्मेलनमा नेपाल सहित १२ देशका आँखा सम्बन्धि बिज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तिलगंगा आँखा प्रतिष्ठानका अध्यक्ष डाक्टर रोहित सैजुंले बताए ।
सम्मेलनमा आँखाको प्लाष्टिक शल्य चिकित्सक, नेत्र बिशेषज्ञ, आवासिय चिकीत्सकको सहभागितामा आँखाको डिल, आँखाको डल्लो बस्ने ठाउँ, आँशु नली, आँखाको क्यान्सर, आँखाको सुन्दरता र आँखाको जटिल रोग सम्बन्धि छलफल हुने डा. सैजुंले जानकारी दिए ।
नेपालमा विभिन्न आँखा अस्पतालहरुले सामान्य आँखाको प्लाष्टिक शल्यक्रिया सेवा उपलब्त्र गराइरहेको भएपनि जटिल आँखाको प्लाष्टिक शल्यक्रियाको लागि भने स्थानिय रुपमा दक्ष चिकित्सकको अभाव रहेको डा. सैजुंले बताए । उनले भने, ‘नेपालमा आँखाको प्लाष्टिक शल्याक्रियाको नेत्र विशेषज्ञ डाक्टर १८ जना मात्रै छन् । त्यसमा पनि सबै काठमाडौं केन्द्रित छन् । त्यसैले पनि विरामीहरुले काठमाडौ.मै धाउनु पर्ने बाध्यत छ ।’
डब्लु एच ओको अनुसार पनि हरेक ५० हजार जनसंख्यालाई १ जना नेत्र विशेषज्ञ चाहिने भनेपनि नेपालमा प्रयाप्त नेत्र विशेषज्ञ नभएको उनको भनाई छ ।