
सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दूधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आज नवीनसँगै सोही ठाउँका ५० वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय इन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई दूधौली नगर अस्पताल सिर्थौली पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए ।
मृतक नवीनको साथमा गएका जङ्गबहादुर र इन्द्र सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।