काठमाडौँ, ११ कात्तिक- चुनाव केन्द्रीत लोकतान्त्रिक गठबन्धनका कारण नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक करियर संकटमा परेको छ । मंसिरको निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्न नपाउने भएपछि उनको राजनीतिक भविष्यप्रति चिन्त व्यक्त गर्न थालिएको छ ।

सिटौला अढाई दशकदेखि झापा क्षेत्र नं ३ बाट चुनाव लड्दै आएका थिए । राम्रो पकड र चाहना हुँदाहुँदै पनि आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि सिटौलाले चुनाव लड्न नपाउने भएका छन् । उक्त क्षेत्रबाट गठबन्धनभित्रको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने भएका छन् । चुनावी गठबन्धन जोगाउन कांग्रेसले राप्रपालाई उक्त क्षेत्र छाड्नुको विकल्प छैन ।
राप्रपाले देशभरमै उक्त क्षेत्र सुरक्षित दाबी गर्दै आएको छ । प्रतिनिधिसभातर्फ २८ सिट रहेको प्रदेश नं १ मा राप्रपाले एक मात्र क्षेत्र झापा ३ मागेको हो । राप्रपाको निर्विकल्प अडानका कारण कांग्रेस नेतृत्वमाथि दबाब बढेको हो, कान्तिपुरमा खबर छ ।